देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा आज (आइतबार) विभिन्न कार्यक्रम आयोजना गरी सहिद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने शहीद सप्ताहको अन्तिम दिन विशेष रुपमा सहिद दिवस मनाउने गरिन्छ । विसं २०१२ देखि काठमाडौँ महानगरपालिकाको संयोजनमा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउन थालिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार लैनचौरमा रहेको सहिद स्मारकमा पुगी शहीदको शालिकमा फूलमाला अर्पण गर्दै शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
श्रद्धाञ्जलि सभामा सभामुख ओनसरी घर्ती मगर, मन्त्रीहरू हितराज पाण्डे र रवीन्द्रराज जोशी, मुख्य सचिव सोमलाल सुवेदी, प्रधान सेनापति, प्रहरी महानिरीक्षक र सरकारका कर्मचारीले पनि पुष्पगुच्छा अर्पण गर्दै सहिदको सम्झना गरेका थिए ।
सोही अवसरमा नेपाली सेनाले शहीदको सम्झनामा एक मिनेट सम्मान गारक अर्पण गरेको थियो । काठमाडौँ महानगरपालिकाको आयोजनामा सहिद सप्ताहको अन्तिमा दिन आइतबार रत्नपार्क शान्तिवाटिकाबाट प्रभातफेरीको आयोजना गरी सहिद स्मारक लैनचौर पुगी मूल समारोहमा परिणत भएको थियो ।
विसं २०१२ देखि काठमाडौँ महानगरपालिकाले ज्ञात अज्ञात सहिदको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्मलाई सहिद सप्ताहका रूपमा मनाउँदै आएको छ ।कान्तिपुरले लेखेको छ ।