बैंक तथा वित्तीय संस्थासम्वन्धी ऐन (बाफिया) कार्यान्वयन हुन नपाउँदै दुई बैंकका अध्यक्षले पदबाट राजीनामा दिएका छन्।
बाफियामा संवैधानिक पदमा रहेका व्यक्तिहरुले बैंकको अध्यक्ष हुन नपाउने व्यवस्था गरिएपछि सांसद रहेका बैंकका अध्यक्षहरुले राजीनामा दिएका हुन्।
प्राइम कमर्सियल बैंकका अध्यक्ष उमेश श्रेष्ठले राजीनामा दिएपछि उदयमोहन श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन्। बैंकको हालै बसेको संचालक समिति बैठकले उदयमोहनलाई सर्वसम्मतिले निर्वाचित गरेको हो।
त्यस्तै सांसद बनेका जनता बैंकका अध्यक्ष उदय नेपाली श्रेष्ठले पनि राजीनामा दएपछि सो पदमा केशवबहादुर रायमाझी सर्वसम्मतीले चयन भएका छन्।
मंगलबार बसेको संचालक समितिको २ सय ७ औं बैठकले रिक्त अध्यक्ष पदमा केशवबहादुर रायमाझीलाई चयन गरेको हो।
यी दुईले राजीनामा दिएपछि अन्य केही अध्यक्षलाई पनि नैतिक रुपमा दवाव परेको छ। सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ र माछापुच्छ्रेका वीरेन्द्र महतोलाई पनि दवाव परेको छ।
राष्ट्र बैंकले भने ऐन कार्यान्वयन नहुँदै आएको राजीनामालाई बाफियासँग जोडेर हेर्न नमिल्ने बताएको छ। राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बाफिया प्रमाणित भएर आउन बाँकी नै रहेकाले राजीनामालाई त्यस आधारबाट नहेरिएको बताए।
सेतोपाटीलाई उनले भने प्रमाणित भएर ऐन नबन्दासम्म यसको कुनै अर्थ म देख्दिनँ, उहाँहरुको व्यक्तिगत कारणले पनि राजीनामा आएको हुन सक्छ।