संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नेपालको संविधान (दोस्रो संशोधन), २०७३ मा चार विषयमा संशोधन प्रस्ताव दर्ता गराउने भएको छ ।
बिजुलीबजारस्थित तराई-मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको मोर्चाको सचिवालय बैठकले भाषा, नागरिकता, संघीयता र राष्ट्रियसभा गठनबारे संशोधन प्रस्ताव पेस गर्ने निर्णय गरेको हो ।
उल्लिखित चार विषयमा संशोधन प्रस्ताव लैजाने तयारी भएको मोर्चाको एक घटक सद्भावना पार्टीका महासचिव मनीष सुमनले राससलाई जानकारी दिए । उनले संशोधन प्रस्तावबारे सरोकारवालासँग छलफल भइरहेको पनि बताए ।
व्यवस्थापिका-संसदमा दर्ता भएको संविधान संशोधन प्रक्रिया गत विहीबार सुरु भएको थियो ।
सरकारले गत मंसिर १४ गते सो प्रस्ताव संसदमा दर्ता गरेको थियो ।
संसदले नेपालको संविधान (दोस्रो संशोधन) २०७३, माथि थप संशोधन प्रस्ताव दर्ता गराउन चाहने सांसदलाई यही फागुन १५ गते कार्यालय समयभित्रको समयसीमा दिएको छ । रासस