बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा भाग लिने राजनीतिक दलहरुले बुधबारसम्ममा आफ्नो दल दर्ता गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।
निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको आयोगले चुनावमा भाग लिने दलहरुलाई फागुन १८ गते बुधबारसम्ममा दल दर्ताको आव्हान गरेको हो । दल दर्ता नगर्ने पार्टीले स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने छैनन् । आयोगले आइतबार एक सूचना निकाली स्थानीय तहको निर्वाचनका लागि गत माघ १७ गतेभित्र आफू क्रियाशील रहेका जिल्लाका जिल्लास्तरीय समितिमार्फत सम्बन्धित जिल्लास्थित क्षेत्रीय निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा विवरण उपलब्ध गराउने भन्ने निर्णयअनुसार नै आयोगको केन्द्रीय कार्यालयमा समेत दल दर्ताका लागि आवश्यक प्रक्रिया शुरू गर्न आग्रह गरेको हो ।
यसअघि दल दर्ता गर्न छुटेकालाई समेत आयोगले दर्ताका लागि मार्गप्रशस्त गरेको बताएको छ । राजनीतिक दलको नाम र त्यसको प्रधान कार्यालय रहने ठेगाना, राजनीतिक दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिका सदस्य तथा अन्य पदाधिकारीको सङ्ख्या, सङ्गठनात्मक स्वरूप, दल दर्ताका लागि अधिकारप्राप्त व्यक्तिले प्राप्त गरेको अधिकारपत्र, आधिकारिक छापको नमूना र वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गर्नु पर्ने आयोगले बताएको छ ।
स्थानीय तह निर्वाचन प्रयोजनको लागि निवेदन पेस गर्दा संविधानको धारा २६९ को उपधारा (४) द्वारा निर्धारित सर्तहरू पूरा गरेको वा पूरा गर्ने कबोल गरेको हुनु पर्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताएका छन् । रासस