प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा पेस गरिएको संविधान संशोधन विधेयक अहिलेको अवस्थामा पारित नहुने बताएका छन् ।
ध्यानाकर्षण पत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेपाल आदिवासी जनजाति महासंघका पदाधिकारीसँग दाहालले राप्रपाले अहिलेको संशोधन प्रस्तावको पक्षमा मतदान गर्न सक्दैन भनेर प्रष्ट भनिसकेकोले प्रस्ताव पारित नहुने बताएका हुन् । संशोधन विधेयक मतदानमा गयो भने विपक्षमा मतदान गर्ने राप्रपाका साथीहरुको प्रष्ट कुरा छ प्रधानमन्त्रीले भने, यति कुरा जान्दाजान्दै मतदानमा जाँदा संशोधन प्रस्ताव पारित हुँदैन, फेल हुन्छ । त्यसले समस्या समाधान होइन, झन् बल्झाउँछ । विधेयकबारे अलिकति समय लिएर निर्णयमा पुग्नु बुद्धिमानी हुने उनको भनाइ छ । प्रधानमन्त्री दाहालले बुधबार बेलुकी सरकारमा सहभागी दलका नेताहरुलाई बालुवाटार बोलाएर छलफल गरेका थिए ।
प्रधानमन्त्रीले जनजाति नेताहरु भने, संविधान जारी गर्ने बेला मेरो पार्टीले पनि आठ बुँदे असहमति दर्ज गरेको छ । तर, अहिलेको संविधान पनि मान्दैनौं भनेर हामी नै यो संविधानविरुद्ध लाग्दा त्यसको परिणाम के होला ? तपाईंहरु सोच्नुहोस्, भुइँको टिप्न खोज्दा पोल्टाको खस्नु हुँदैन ।
अहिलेको संविधान खारेज भयो भने २०४७ को संविधान आउने खतरा रहेको भन्दै उनले अहिले प्राप्त गरेका अधिकारलाई जोगाउँदै अगाडि बढ्नु राम्रो हुनेमा जोड दिए । कान्तिपुरमा समाचार छ ।