एमालेको मेची महाकाली जागरण अभियान (भिडियो)

सुनसरी सदरमुकाम इनरुवामा मध्यान्ह आइपुगेको एमालेको मेची महाकाली जागरण अभियानलाई मधेसी मोर्चाका कार्यकर्ताले कालो झण्डा देखाएका छन् । उनीहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नारा लगाएका थिए । 

मोर्चाको विरोधका बावजुद कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बिहान इटहरीबाट हिडेको अभियान झुम्कामा कोणसभा गरि इनरुवा प्रवेश गरेको थियो । झुम्कामा एमाले नेता तैयव हुसैन र शंकर पोखरेलले सम्बोधन गर्दै संविधान विरोधीहरुले नेपाली जनता र मधेसको हित विपरित संविधान संशोधन गर्न लागेकाले आम जनतालाई जागरुक बनाउन एमालेले मेची महाकाली जागरण अभियान थालेको बताए ।

इनरुवामा एमाले नेता लालबाबु पण्डित र केन्द्रीय सदस्य भगवती चौधरीले मधेसको हितका लागि एमाले जहिले पनि लागि परेको बताए । लोकतन्त्रमा सबैले सबैका सामुन्ने आफ्ना भनाइहरु राख्ने अधिकार भएको तर केही मधेसवादीहरुले त्यो अधिकार खोस्ने काम गरेको आरोप लगाए ।

पण्डितले मधेसमा पहिचानभन्दा पनि बढी सामथ्र्य चाहिएको बताए । उनले भने, दुई नम्बर प्रदेशका यूवा अहिले सबैभन्दा बढी बैदेशिक रोजगारीमा छन् । उनीहरुलाई पहिचान भन्दा बढी सामथ्र्य चाहिएको छ ।

चौधरीले भनिन्, पनि यो मधेसकै छोरी हुँ, संविधानले मधेसका बास्तविक जनतालाई सम्बोधन गरेको छ । तर केही ठेकेदारहरुले मधेसी जनताका लागि भन्दै विदेशी दलालका लागि संविधान संशोधन गराउने खेलमा लागेको उनले आरोप लगाइन् ।


कार्यक्रममा अध्यक्ष केपी ओली, झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम लगायतका बरिष्ठ नेताहरुको उपस्थिति रहेको थियो । कालो झण्डा देखाउने र गाडीमाथि आक्रमणको प्रयास गर्ने युवा फोरमका केन्द्रीय सदस्य रंजीत गोस्वामीलाई प्रहरीले पक्राउ गरेको छ । कार्यक्रम सकेर गाडीहरु सप्तरीतर्फ प्रस्थान गर्दा संघीय समाजवादी फोरमकी पूर्व सभासद सविता यादवले चप्पल फुकालेर गाडीमाथि प्रहार गरेकी थिइन् ।
कालोझण्डा देखाउने र प्रहरी विच सामान्य घम्साघम्सी भएको प्रहरीले जनाएको छ । तर संयुक्त लोकतान्त्रिक मोर्चाले विज्ञप्ती जारी गरि आफ्ना ७ जना कार्यकर्ता घाइते भएको जनाएको छ ।

मोर्चाले ईश्वरप्रसाद गुप्ता, श्यामनारायण खेरवार, सविता यादव, तेजनारायण अरगरिया, सभापैत यादव र रञ्जीत गोश्वामी रहेको जनाएका छन् । मोर्चाका सचिव उमेश साहका अनुसार प्रहरीले बल प्रयोग गरेका कारण आफ्ना कार्यकर्ताहरु घाइते भएका हुन् ।

कान्तिपुरबाट