सप्तरी घटनापछि आकस्मिकरुपमा बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले सरकारलाई दिंदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
मोर्चाले मंगलबार सभामुखलाई पत्र लेखेर समर्थन फिर्ता लिएको औपचारिक जानकारी गराउने निर्णय गरेको मोर्चाका नेता केशव झाले बताए।
मोर्चाले २४ र २५ गते मधेस बन्दको घोषणा गरेको छ।
सोमबार साँझ तीनकुने स्थित संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयमा बसेको बैठकले सप्तरी घटनाको विरोध गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
नेकपा एमालेको मेची-महाकाली अभियानको क्रममा सप्तरीमा झडप हुँदा प्रहरीको गोली लागि तीन जनाको मृत्यु भएको थियो।
पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई मोर्चामा आबद्ध ७ दलको समर्थन थियो । संघीय समाजवादी पार्टीका १५, तराई मधेस लोकतान्त्रि पार्टीका ११, सदभावना पार्टी ५, तराई मधेस सदभावना पार्टी ३, राष्ट्रिय मधेस समाजवादी पार्टी ३, नेपाल सदभावना पार्टी १ र मधेसी जनअधिकार फोरम गणतान्त्रिकका १ सांसदको समर्थन थियो ।
सप्तरीमा भएको प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।
प्रमुख विपक्षी नेकपा एमालेको मेची महाकाली अभियान अन्तरगत राजविराजको औद्योगिक क्षेत्रमा भएको सभा विथोल्ने खोज्नेलाई प्रहरी रोक्दा झडप भएको थियो । झडपका क्रममा मधेसी मोर्चाका कार्यकर्ताले गुलेलीका साथै पेट्रोल बम हानेपछि बाध्य भएर गोली चलाउनु परेको प्रहरीले बताएको छ ।
सुरक्षाकर्मीले चलाएको गोली लागेर मलेठ-४ का २० वर्षीय संजन मेहताको मृत्यु भएको छ । उनलाई एमालेको कार्यक्रम स्थलबाट करिव १०० मिटर पर गोली लागेको थियो र उनको घटनास्थलमै मृत्यु भएको छ ।
यस्तै लिमनका दिगम्बर झा र मलेठ ४ का पिताम्बर मण्डलको मृत्यु भएको छ । गोली लागेर गम्भीर घाइते भएका झाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।
मण्डलको भने धरान पुर्याए लगतै निधन भएको छ । यस्तै प्रसवनीका आनन्दप्रसाद साहको उपचारको क्रममा मृत्यु भएको छ ।
घटनामा गोली प्रहारबाट एक जना १२ बर्षीय बालक सुरेन्द्र साहसहित आठ जना घाइते भएका छन् भने प्रहरीको लाठी चार्जबाट एक दर्जनभन्दा बढी घाइते भएका छन् । सद्भावनाका केन्दि्रय सदस्य भीमराज यादव र दीपेन्द्र चौधरी, क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, संजय यादवसहितका लाठी चार्जबाट घाइते भएका छन् । घाईते मध्ये अधिकांशको उपचार धरान र राजविराजमा भइरहेको छ ।
झडपमा परी केहि प्रहरी समेत घाइते भएका छन् ।
घटनापछि एमालेले तीन दिनका लागि मेची महाकाली अभियान स्थगित गरेको छ भने मधेसी मोर्चालाई आन्दोलन घोषणा गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।