प्रधानमन्त्री दाहालद्वारा सप्तरी जिल्लालगायत मधेसका केही ठाउँमा भएका घटना अत्यन्तै दुःखदायी भएको उल्लेख

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार सप्तरी जिल्लालगायत मधेसका केही ठाउँमा भएका घटना अत्यन्तै दुःखदायी भएको बताएका छन् । 
दोलखाको घ्याङसुकाठोकर गाविस-५ मावनेमा नवनिर्मित काङलिङ गुम्बाको मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले हिजो मधेसमा भएको घटनामा परी मृत्यु भएकाको परिवारलाई सरकारको तर्फबाट उचित क्षतिपूर्ति दिने र घाइतेको निःशुल्क उपचार गरिदिने विश्वास दिलाए । 
साथै, उनले मधेसको समस्या समाधानका लागि आजै मधेसी दलसँग छलफल गर्ने पनि जानकारी दिए । प्रधानमन्त्री दाहालले स्थानीय निर्वाचनमा जुट्नसमेत सबैसँग आग्रह गर्दै भने, ‘मन्त्रिपरिषद्को बैठक बोलाएर मधेसका समस्याको समाधान खोज्ने पहल गर्छु ।’
रासस