जाजरकोटमा विहीबार यात्रीबाहक बस दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ भने अरु ४० जना घाइते भएका छन् ।
सदरमुकाम खलंगाबाट खारातर्फ गइरहेको लु३ख २२७९ नम्बरको बस भेरीमालिका भन्ने स्थानमा दुर्घटना भएको हो ।
मृतकमध्ये १३ जनाको घटनास्थलमा र ६ जनाको उपचारकाक्रममा अस्पतालमा मृत्यु भएको हो ।
मृतकहरुको सनाखत हुन सकेको छैन भने घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको जनाइएको छ ।
बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । बसमा ६० जनासम्म यात्री सवार रहेकाले मानवीय क्षति बढ्नसक्ने आशंका गरिएको छ ।
दुर्घटनाग्रस्त बस घुमाउरो सडकबाट खोलाकिनारमा खसेको हो । पुरानो बसमा क्षमताभन्दा बढी यात्री भएकै कारण दुर्घटना भएको बताइएको छ ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले घटनास्थलमा उद्धार गरेका थिए । अधिकांश यात्री बीचबाटोबाट चढेको प्रहरीले जनाएको छ ।
घटनास्थल सदरमुकाम खलंगादेखि पाँच किलोमिटरको दुरीमा रहेको छ । इमेजखबरमा समाचार छ ।