स्थानीय तह पुनःसंरचना पारित भइ राजपत्रमा प्रकाशन भएसँगै मोरङमा स्थानीय तहहरुको नयाँ नाम र जिम्मेवारी तोकिएको छ ।
साविक जिविस र गाविसको नाम परिवर्तन भइ नगरपालिका र गाउँपालिकामा जिम्मेवारी हस्तान्तरण भएको हो ।
मोरङ जिल्लामा एक उपमहानगरपालिकासहित ८ नगरपालिका र ८ ओटा गाउँपालिका बनेका छन् ।
शुक्रबारदेखि नयाँ संरचना लागू गर्ने भनिएता पनि मोरङमा भने मंगलबारबाटमात्र लागू गरिएको हो ।
साविक जिल्ला विकास समितिको बोर्ड परिवर्तन गरी जिल्ला समन्वय समिति लेखिएको छ ।
मोरङ जिल्लामा एक उपमहानगरपालिका, ८ नगरपालिका र ८ ओटा गाउँपालिका गरी १७ ओटा केन्द्र रहेका छन । अबको पुनःसंरचनाअनुसार केन्द्रमा १६९ ओटा वडाहरु कायम भएका छन् ।
जिल्ला समन्वय समिति मोरङका प्रमुख शोभाकर रेग्मीकाअनुसार ८ नगरपालिका र ८ ओटा नै गाउँपालिकाका कार्यालय सम्पादन गर्ने गरी कार्यालय प्रमुख खटाइसकिएको छ ।
नगरपालिकाको हकमा शाखा अधिकृत तहको र गाउँपालिकाको हकमा नायब सुब्बा तहको कर्मचारी कार्यालय प्रमुखकारुपमा तोकिएको रेग्मीले जानकारी दिए ।
पुनःसंरचना तह प्राविधिक समितिकाअनुसार मोरङमा सुन्दरपुर हरैचा, वेलवारी, पथरी शनिश्चरे, उर्लाबारी रतुवामाई, सुनवर्षी, रंगेली र लेटाङ नगरपालिका रहेका छन् ।
यस्तै, केराबारी, मिकलाजङ, बूढीगंगा ग्रामथान, कटहरी, जदाहा, धनपालथान र कानेपोखरी गाउँपालिका रहेका छन् । इमेजखबरमा समाचार छ ।