निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि आजदेखि मतपत्र छाप्दै छ । जनक शिक्षा सामग्री केन्द्रले १ करोड ६० लाख हाराहारीमा मतपत्र छाप्ने छ । प्रमुख आयुक्त अयोधीप्रसाद यादवसहित आयोगका पदाधिकारीले भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रको स्थलगत निरीक्षण गरेपछि आजदेखि मतपत्र छाप्न लागिएको हो ।
मतपत्र छाप्न करिब ५ सय मेट्रिक टन कागज खपत हुने अनुमान छ । आयोगले खोजेजस्तै कागज केन्द्रले व्यवस्थापन गरेको छ । सबै मतपत्र छापिन ४० देखि ४२ दिन समय लाग्ने बताइएको छ । छापिने क्रम सुरु भएसँगै मतपत्र क्रमशः जिल्लातिर पठाउन थालिनेछ । एक मतदाताले आगामी स्थानीय तह निर्वाचनमा ७ जना जनप्रतिनिधिलाई मतदान गर्न पाउने छन् । आयोगले ७ वटै पद समेटिएको एउटै मतपत्र तयार पारेको छ ।
बाँकी गाउँपालिकाको हकमा अध्यक्ष, उपाध्यक्ष वा नगरपालिकाको हकमा प्रमुख, उपप्रमुखसहित वडाध्यक्ष र चारजना वडा सदस्य गरी एक मतदाताले एउटै मतपत्रमा ७ वटा पदका लागि ७ स्थानमा स्वस्तिक चिह्न लगाउनुपर्नेछ ।
चार वडा सदस्यमा दुई महिला अनिवार्य गरिएकोमा त्यसमध्ये एक जना दलित महिला पद हुनेछ । निर्वाचन आयोगले सबैतिर मतपत्र एकै प्रकारको हुने जनाएको छ । सेतो कागजमा नीलो मसीबाट निर्वाचन चिह्न छापिएको एकै प्रकारको मतपत्र हुनेछ ।
तर जिल्लाअनुसार उम्मेदवार संख्या फरकफरक हुने भएकाले जिल्लागत रूपमा मतपत्रको आकार भने फरक हुनेछ । आयोगले सानो, मझौला, ठूला गरी ६ आकारका मतपत्र छाप्ने तयारी गरेको छ ।