गाउँपालिका केन्दलाई लिएर दक्षिण रोल्पाका स्थानीयबासी आन्दोलित

रोल्पा । गाउँपालिका केन्द्र पहिले सहमति भए अनुसारको नभएको भन्दै दक्षिण रोल्पाका केहि गाबिसका स्थानीयबासी आन्दोलित भएका छन् । पहिले जिल्लाको सर्वदलीय समितिले नै पारित गरी गाउँपालिका केन्द नुवागाउँको त्रिवेणीमा निश्चित गरिएको भएपनि अहिले सरकारले जुँगारमा केन्द्र तोकेको भन्दै आन्दोलित भएका हुन ।
त्रिवेणी गाउँपालिकाको केन्द्र जुँगार भएको भन्दै असन्तुष्ट नुवागाउँ, गैरीगाउँ, करेटी लगायतका स्थानीयहरुले सोमबार जिल्ला समन्वय समितिको कार्यालय रोल्पा घेराउ समेत गरेका छन् ।
गाउँपालिकामै आन्दोलन गर्दै आईरहका स्थानीयबासी आफुहरुको माग सम्बोधन नभएको भन्दै सदरमुकाम नै आएर आन्दोलन गरेका हुन् । दुई दर्जन बढी मोटरसाईकल र एउटा स्थानीय बस नै रिर्जभ गरेर कालो झण्डा बोकेर आएका संयुक्त संघर्ष समितिले पायक पर्ने ठाउँमा केन्द्र हुनु पर्छ भन्दै चर्को नरावाजी गरेका थिए । उत्तेजित भएका स्थानीयबासीलाई प्रहरीले निकै रोक्ने प्रयास गरेको थियो ।
तर आन्दोलनरत पक्षहरुले जबरजस्ती जिल्ला समन्वय समितिको कार्यालय रोल्पा भित्र प्रवेश गर्न खोजेपछि प्रहरीले रोक्ने प्रयास स्वरुप अश्रुग्यास छोडेको थियो । शुक्रवार त्रिवेणी गाउँपालिकाको बोर्ड साविकको जुँगार गाविसको कार्यालयमा टासिएको बिरोधमा नुवागाउँ, गैरिगाउँ, करेटीका स्थानीयले केन्द्र त्रिवेणीमा हुनुपर्ने माग गर्दै चरणबद्ध विरोधका कार्यक्रम गरिरहेका छन् ।
उता शुक्रबार गाउँपालिकाका निमित्त कार्यकारी अधिकृतको अनुपस्थितिमा पनि जुँगारका स्थानीयले गाउँपालिकाको बोर्ड टासी अनौपचारिक कार्यक्रम समेत सम्पन्न गरेका थिए । संघर्ष समितिले पश्चिम दक्षिण रोल्पाको यातायात समेत ठप्प पारेका छन् । त्यस क्षेत्रमा चल्ने कुनैपनि सवारीका साधन चल्न नसकेपछि त्यस क्षेत्रका सेवाग्राही मर्कामा परेका छन् ।