स्थानीय तहको निर्वाचन नजिकिएसँगै म्याग्दीमा चुनावी सरगर्मी बढ्यो

स्थानीय तहको निर्वाचन नजिकिएसँगै म्याग्दीमा चुनावी सरगर्मी बढेको छ ।
जिल्लामा क्रियाशील, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपालगायतका राजनीतिक दलले चुनावकेन्द्रित आमसभा, कार्यकर्ता भेला, बैठक तथा सम्मेलनलाई तीव्रता दिएका छन् ।
सरकारले चुनाव घोषणा गरेपछि जिल्लाका नेताले कार्यकर्ता र मतदाता भेटघाटलाई बाक्लो बनाएका छन् ।
एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा दलहरुले स्थानीय निर्वाचनको परिणाम आ-आफ्नो पक्षमा पार्नका लागि कसरत थालेका हुन् ।
गाउँपालिकाको केन्द्र विवादले रघुगंगा गाउँपालिकाको राखु पिप्ले, भगवती र बेगखोला क्षेत्रका बासिन्दाले समस्या समाधान नभएसम्म निर्वाचन बहिस्कार अभियान चलाएपछि त्यस क्षेत्रमा निर्वाचनसम्बन्धी कुनै गतिविधि भएका छैनन् ।
अन्य चार गाउँपालिकासहित बेनी नगरपालिकामा दलहरुले आफ्नो चुनावी एजेन्डालाई जनतासामु पुर्‍याउनका लागि गाउँपालिका र वडाकेन्द्रित सभा तथा कार्यकर्ता भेलालगायतका कार्यक्रमलाई जोड दिएका छन् ।
चुनावी कार्यक्रमसँगै जिल्लामा रहेका दलहरुले नगरपालिका र गाउँपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवार छनोटको गृहकार्यलाई तीव्रतासाथ अगाडि बढाएका छन् ।
लामो समयपछि स्थानीय निर्वाचन हुन लागेकाले पनि सबै प्रमुख दलमा नगर र गाउँपालिका प्रमुख एवं उपप्रमुख पदमा स्वभाविकरुपमा आकांक्षी धेरै देखिएका छन् ।
नेकपा एमाले म्याग्दीका उपसचिव देवबहादुर घलेले नगरपालिकाको प्रमुख पदको उमेदवारमा पार्टीतर्फबाट धेरैले आकांक्षा राखेको बताए ।