मधेसी मोर्चा र एमालेलाई मान्य हुने गरी संशोधन दर्ता गर्ने तयारी भईरहेको प्रधानमन्त्रीको भनाई


प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले मधेसी मोर्चा र विपक्षी एमालेलाईसमेत मान्य हुने गरी नयाँ संविधान संशोधन विधेयक संसदमा दर्ता गर्ने तयारी गरिरहेको बताएका छन् ।
शनिबार राजधानीमा रिपोर्टस् क्लबको १९औं वार्षिकोत्सव समारोहमा उनले नयाँ संशोधन विधेयक दर्ता भएसँगै मधेसी मोर्चासहित सबैपक्षले स्थानीय तहको चुनावमा भाग लिने वातावरण बन्ने दाबी पनि गरे ।
वैशाख ३१ गते नै स्थानीय तहको चुनाव हुने उनको भनाइ थियो ।
कार्यक्रममा नेकपा एमालेका नेता माधवकुमार नेपालले सरकार वैशाख ३१ मै स्थानीय तहको निर्वाचन गर्नेमा दृढ नदेखिएको टिप्पणी गरे ।
वैशाख ३१ मै स्थानीय तहको चुनाव हुनुपर्ने भन्दै उनले स्थानीय तहको संख्या थप्न नहुनेमा जोड दिए ।
यस्तै, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहको चुनावमा सबैपक्षलाई सामेल गराउन संविधान संशोधन गर्नुपर्ने बताए ।
संविधान संशोधनको पक्षमा एमाले लचिलो बन्नुपर्ने उनको भनाइ थियो ।
निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले चुनावको सम्पूर्ण तयारी सकिएको जानकारी दिए ।
कार्यक्रममा भारतीय जनता पार्टीका नेताहरु भगतसिंह कोसियारी, विजय जोली, भारतीय राजदूत मन्जीत सिंहले नेपालमा स्थायित्व आवश्यक रहेको बताए ।
नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले आफूहरु स्थानीय तहको चुनावमा भाग लिन तयार रहेको भन्दै दलीय चुनाव चिह्न पाउने व्यवस्था गर्न माग गरे । इमेजखबरमा समाचार छ ।