कांग्रेस सभापति शेरवहादुर देउवाले प्रमुख प्रतिपक्षी दल एमालेले जातीय र सामाजिक विद्वेस फैलाउने गरी भ्रम सिर्जना गर्न नहुने बताएका छन् ।
निर्वाचनको मुखमा आएर सामाजिक तथा जातीय विद्वेसले लोकतन्त्र र गणतन्त्र कमजोर हुने भएकाले यो विषयमा सबै पक्ष गम्भीर हुनुपर्ने देउवाले बताए । नेपाली कांग्रेसले आइतबारदेखि शुरु गर्न लागेको देशव्यापी आमसभामा सहभागी हुन धनगढी पुगेका कांग्रेस सभापति देउवाले पत्रकार सम्मेलनमा भने, पहाड, तराइ, हिमाल सबै नेपाली भएकाले कसैको पनि आत्मसम्मानमा चोट पुर्याउने काम गर्नु उचित हुँदैन ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलासहित धनगढी विमानस्थलमा भएको पत्रकार सम्मेलनमा देउवाले निर्वाचन हुनेमा शंका नगरी ढुक्क हुन आग्रह गरेका थिए । देउवाले भने, मधेसवादी दल निर्वाचनमा आउने भएपछि निर्वाचन दुई चरणमा पनि हुनसक्छ ।
मधेसवादी दलहरुले निर्वाचनमा आउनुको अर्को कुनै विकल्प नभएकाले उनीहरु पनि निर्वाचनमा आउँदा केही समय लाग्न सक्ने भएकाले निर्वाचनमा दुई चरणमा हुन सक्ने उनले बताएका हुन् ।
कांग्रेसको प्रमुख चुनावी मुद्दा विकास र लोकतन्त्रको संस्थागत विकास भएको पनि देउवाले बताए ।
सञ्चारकर्मीले राखेका प्रश्नको जवाफ दिंदै देउवाले भने, अबको पुस्ताले चाहेको विकास नेपाली कांग्रेसले मात्र दिन सक्ने भएकाले निर्वाचनमा कांग्रेसको लहर आउन थालेको छ ।
पत्रकार सम्मेलनमा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले सुदूरपश्चिमबाट चुनावी अभियान सुरु गर्न लगेको बताए । पत्रकार सम्मेलनमा अर्का नेता कृष्ण सिटौला भने केही बोलेनन् । कान्तिपुरमा समाचार छ ।