डिआईजी) नवराज सिलवालले सर्वोच्च अदालतमा मंगलबार दोस्रो रिट दर्ता

प्रहरी नायव महानिरीक्षक (डिआईजी) नवराज सिलवालले सर्वोच्च अदालतमा मंगलबार दोस्रो रिट दर्ता गरेका छन् । 
प्रहरी महानिरीक्षक (आईजीपी)मा प्रकाश अर्याललाई गरेको नियुक्त बदर र यसअघि सर्वोच्च अदालतले गरेको निर्णय कार्यान्वयनको माग राखी उनले रिट दर्ता गरेका हुन् ।
सरकारले सोमबार आईजीपीमा डिआईजी अर्याललाई नियुक्त गरेको थियो । उनलाई सोमबार राति नै महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गरिएको छ । 
डिआईजी सिलवाल कार्यसम्पादन मूल्यांकनको फाइलमा झेल भएको भन्दै असन्तुष्ट छन् । उनले कार्यसम्पादन मूल्यांकनको फाइलमै दुई नम्बर घटाएर आफूलाई पछि पारिएको दाबी गरेका छन् ।
यसअघि सरकारले गत फागुन १ मा डिआईजी जयबहादुर चन्दलाई महानिरीक्षक नियुक्त गरेकामा तीन साताअघि सर्वोच्च अदालतले उक्त निर्णय उल्ट्याइदिएको थियो । सर्वोच्चले कार्यसम्पादन मूल्यांकन ख्याल नगरी मन्त्रिपरिषद्ले महानिरीक्षक नियुक्ति गर्नु विधिसम्मत नभएको भन्दै कार्यसम्पादनका आधारमा पुन: नियुक्ति गर्न चैत ८ गते आदेश दिएको थियो । त्यतिबेला चन्दलाई वरीयता क्रम मिचेर नियुक्ति दिइएको भन्दै डिआईजी सिलवालले नै सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए ।  
साथै अधिवक्ता कपिलदेव ढकाल पनि अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ताका लागि सर्वोच्च अदालत पुगेका छन् । कान्तिपुरमा समाचार छ ।