उपेन्द्र यादव नेतृत्वको संघीय गठबन्धनले पनि आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ।
आज बसेको गठबन्धनको केन्द्रीय आन्दोलन मूल परिचालन समितिको बैठकले व्यवस्थापिका संसद्मा प्रस्तुत गरिएको संविधान संशोधनको विधेयक मधेशी, आदिवासी जनजाति, खस, थारु, मुस्लिम, शिल्पी (दलित), अल्पसंख्यक तथा सीमान्तकृत लगायतका समुदायहरुले उठाएका मागहरु र विगतमा भएका समझदारी, सहमति र सम्झौताहरुको प्रतिकूल हुनुका साथै संघीय गठबन्धनले सरकार समक्ष प्रस्तुत गरेको २६ बुँदे मागलाई समेत बेवास्ता गरी ल्याएको र हाम्रा मुद्दाहरुलाई सम्बोधन गर्न नसक्ने निर्णय गरेको हो।
गठबन्धनले उक्त विधेयकलाई अस्वीकार गर्दै मुद्दाहरुलाई सम्बोधन गराउन निरन्तर संघर्ष जारी राख्ने निर्णय गरेको गठबन्धनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
संविधान संशोधन गरी हाम्रा मुद्दाहरुलाई सम्बोधन नगरुञ्जेल स्थानीय तहको निर्वाचनमा सहभागी नहुने निर्णय गरिएको छ, विज्ञप्तिमा भनिएको छ। यसअघि आजै बसेको मधेसी मोर्चाको बैठकले पनि निर्वाचन बहिष्कार गरेर आन्दोलनमा जाने निर्णय गरेको थियो। सेतोपाटीमा समाचार छ ।