मधेसी मोर्चामा आबद्ध सातमध्ये ६ दलबीच एकता, पार्टीको नाम पहिलेनै अर्कैको नाममा दर्ता

छ मधेसी घटकले बिहीबार एकता घोषणा गरेपछि बनेको राष्ट्रिय जनता पार्टी एक महिनाअघि नै निर्वाचन आयोगमा दर्ता भएको खुलेको छ ।
नेत्रबहादुर लिम्बु अध्यक्ष रहेको उक्त दललाई गत चैत २ गते निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले हस्ताक्षर गरी दिएको पत्रमा उक्त पार्टी दर्ता भएको छ ।
 
नाम दोहोरिने अवस्था आएमा पछिल्लो दलले नाम परिवर्तन गर्नुपर्ने हुन्छ । यसरी आज गठन भएको नयाँ दलको नाम विवादमा परेको छ ।
मधेसी नेताहरुले भने पुरानो कुनै दल उक्त नाममा दर्ता भएको भए पनि अहिले उक्त नाम आयोगमा खाली रहेको देखिएकाले परामर्श लिएर दलको नाम चुनेको दाबी गरे । आज एकीकृत दलको अध्यक्ष मण्डलका एक अध्यक्ष राजेन्द्र महतोले  कुरा गर्दै त्यस्तो दाबी गरे । 
कान्तिपुरमा समाचार छ ।   

मधेसी मोर्चामा आबद्ध सातमध्ये ६ दलबीच एकता भएको छ । एकीकृत नयाँ पार्टीको नाम राष्ट्रिय जनता पार्टी राखिएको छ । काठमाडौंको कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा भएको एक कार्यक्रमकाबीच एकता घोषणा गरिएको हो । 
एकता घोषणामा पार्टीको चिन्ह र झण्डासमेत सार्वजनिक गरिएको थियो । पार्टीको चुनाव चिन्ह छाता रहनेछ । 
तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको हो ।
पार्टीको अध्यक्ष महन्थ ठाकुर रहने भनिए पनि दोस्रो तहको वरियता विवाद नमिलेपछि सामूहिक अध्यक्ष मण्डल बनाई नेतृत्व गर्ने निर्णय भएको बताइएको छ ।
जावलाखेलको एक निजी घरमा बिहीबार राति पौने २ सम्म चलेको एकता बैठकको समापन गर्दै नेता महन्थ ठाकुरले वैकल्पिक राष्ट्रिय शक्ति बनाउने घोषणा गरेका थिए ।
सुरुमा ५ दलबीच एकता गर्ने भनिए पनि केहीबेर अघि भएको घोषणा सभाकै बीच अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी पनि राष्ट्रिय जनता पार्टीमा जोडिएको हो ।
६ दलबीच एकतासँगै राष्ट्रिय जनता पार्टी २५ सांसदसहित संसदको ५ औं ठूलो दल बनेको छ । कान्तिपुरमा समाचार छ ।