राष्ट्रिय मानव अधिकार आयोगले आसन्न स्थानीय तह निर्वाचनको अनुगमन गर्ने भएको छ । यसै सातादेखि खटिने आयोगका मानव अधिकार अधिकृतसहितको टोलीले निर्वाचनअघि, निर्वाचनको समय र निर्वाचनपश्चात् गरी तीन चरणमा मानव अधिकारको सुनिश्चितता सम्बन्धमा देशभर अनुगमन गर्नेछ । अनुगमनका लागि आयोगका सदस्य तथा प्रवक्ता मोहना अन्सारीको संयोजकत्वमा मानव अधिकार अनुगमन तथा समन्वय समिति निर्माण गरिएको छ ।
टोलीले राजनीतिक दलहरूले शान्तिपूर्वक भेला गर्न तथा विचार अभिव्यक्त गर्न पाए/नपाएको, राजनीतिक गतिविधिमा बालबालिका प्रयोग भए/नभएको सम्बन्धमा अनुगमन गर्नेछ । साथै मतदाता शिक्षा तथा नागरिक सचेतनाको अवस्था, राजनीतिक दलद्वारा निर्वाचनको क्रममा हुन सक्ने मानव अधिकार हनन्, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, अल्पसंख्यक सबै नागरिकले भयरहित वातावरणमा मतदान गर्न पाउने अधिकारको सुनिश्चितता, स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ मा उल्लिखित मानव अधिकारसम्बन्धी विषय, समग्र सुरक्षा स्थितिका विषयमा समेत टोलीले अनुगमन गर्ने आयोले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचनमा कुनै पनि राजनीतिक विषयलाई समर्थन गर्ने वा नगर्ने राजनीतिक दल वा व्यक्तिको अधिकार भए पनि त्यसलाई हिंसात्मक एवम् ध्वंसात्मक नबनाउन, सर्वसाधारणको मानव अधिकारको सम्मान गर्न राजनीतिक दल तथा सरोकारवालाहरुसाग आयोग आग्रह समेत गरेको छ । कान्तिपुरमा समाचार छ ।