आगामी साउन १ देखि निकासी-पैठारी संकेत नम्बर अनिवार्य

सरकारले आगामी साउन १ गतेदेखि निकासी-पैठारी संकेत नम्बर (एक्जिम कोड) अनिवार्य गर्ने भएको छ ।
सरकारले एक्जिम कोडसम्बन्धी कार्यविधि २०७३ लागू गरी सामग्री आयात गर्दा एक्जिम कोड अनिवार्य लिनुपर्ने व्यवस्था गरेको हो ।
भन्सार विभागले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी निकासी तथा पैठारी गर्ने व्यक्तिले अनिवार्यरुपमा संकेत नम्बर लिनुपर्ने व्यवस्था गरेको जनाएको हो ।
यसले व्यवसायीहरुलाई सजिलो हुने र अरु कसैले पनि भन्सारमा दुःख नपाउने विभागका महानिर्देशक रामशरण चिमोरियाले बताए । उनले साउन १ गतेदेखि अनिवार्यरुपमा यो व्यवस्था लागू हुने बताए ।
गैर-व्यवसायिक प्रयोजन, दान-वकसको लागि आयात गर्ने, सामाजिक कार्यका लागि सामग्री आयात गर्दा भने संकेत नम्बर लिनुनपर्ने विभागले जनाएको छ ।
यस्तै, एकपटकमा २५ हजार रुपैयाँ मूल्यसम्मको मालवस्तु पैठारी गर्न वा एकपटकमा पाँच लाख रुपैयाँ मूल्यसम्मको मालवस्तु निकासीका लागि संकेत नम्बर आवश्यक पर्ने छैन ।
एउटै व्यक्तिले एकभन्दा बढी संकेत नम्बर नपाउने पनि विभागले जनाएको छ ।
सामग्री आयात गर्नेले संकेत नम्बर अनिवार्यरुपमा लिनुपर्नेछ भने निर्यात गर्नेले भने स्वतन्त्ररुपमा संकेत नम्बर लिनसक्ने विभागले स्पस्ट पारेको छ । इमेजखबरमा समाचार छ ।