काठमाडौं-निजगढ फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय

 सरकारले काठमाडौं-निजगढ फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको हो ।
यस्तै, बैठकले करार सेवामा कार्यरत् कर्मचारीहरुलाई पनि दसैंखर्च, पोसाक भत्ता, औषधि-उपचार खर्च दिने निर्णय गरेको छ ।
बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंकको २० अर्ब रुपैयाँ ऋण लिने प्रस्तावलाई स्वीकृति दिएको छ ।
यस्तै, मन्त्रिपरिषदको बैठकले पुष्पराम केसी, नारायणबाबु थापा र रामशरण पौडेललाई सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी, नेपाली सेनाका विनायक सिंहलाई पाइलट महासेनानीमा बढुवा गर्ने निर्णय पनि बिहीबारको बैठकले गरेको छ ।
बैठकले साहित्यकार एवं संस्कृतिविद् सत्यमोहन जोशीलाई वाङ्मय शताब्दी पुरुषको सम्मानद्घारा पुरस्कृत गर्ने निर्णय गरेको छ ।
बैठकले सामान्य प्रशासनमन्त्री केशवकुमार विष्टको संयोजकत्वमा संघीय प्रशासनिक पुनःसंरचना समिति र काशीराज दाहालको नेतृत्वमा सहजीकरण समिति गठन गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । इमेजखबरमा समाचार छ ।