गोरखामा माओवादी केन्द्रका कार्यकर्ताद्वारा नयाँ शक्तिका कार्यकर्तामाथि आक्रमण

नयाँ शक्ति पार्टीको चुनावी प्रचारमा हिँडेका नेता-कार्यकर्तालाई बाटो छेकेर नेकपा माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेको नयाँ शक्ति पार्टीले आरोप लगाएको छ ।
गोरखा नगरपालिका-९ लक्ष्मीबजारमा शनिबार साँझ माओवादी केन्द्रको आक्रमणबाट नयाँ शक्तिका कार्यकर्ता सुवास कुमाल, भीमबहादुर कुमाल, तिलक रम्तेल र दीपक कुमाल घाइते भएका छन् । उनीहरुको गोरखा जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
माओवादी कार्यकर्ताले नयाँ शक्ति पार्टीका कार्यकर्ता चढेको ग२च ३३६४ नम्बरको बोलेरो जिपको सिसा फुटाइदिएका छन् ।
इँटा प्रहारबाट बोलेरोको अगाडि भागको सिसा फुटेको छ भने बा३७प २६०४ र बा४०प ६४२७ नम्बरको मोटरसाइकल तोडफोड गरेका हुन् ।
साँझ पौने ६ बजेतिर माओवादीले नयाँ शक्तिका कार्यकर्तामाथि आक्रमण गरेको बताइएको छ ।
नयाँ शक्तिबाट गोरखा नगरपालिकाको प्रमुख पदका उम्मेदवार पूर्वसभासद ज्ञानेन्द्र कुमालको नेतृत्वमा देउरालीमा चुनावीसभा गरेर फर्किएको टोलीमाथि माओवादीले आक्रमण गरेका हुन् ।
कुमाल स्कारपियो गाडीमा रहेकाले आक्रमणमा परेनन् । चुनावी प्रचार टोली सवार बोलेरोमाथि माओवादीले आक्रमण गरेका प्रत्यक्षदर्शीले जनाएका छन् ।
नयाँ शक्ति पार्टीका कार्यकर्तामाथि आफूहरुले आक्रमण नगरेको गोरखा नगरपालिकाको प्रमुख पदका उम्मेदवार कृष्ण रानाले दाबी गरे ।
उनले भने हाम्रो टोलीले लालसलाम भन्यो । उनीहरुले अश्लील इसारा गरेपछि सामान्य विवाद भएको हो । कुटपिट भएको छैन ।  रासस