
आफ्ना कार्यकर्ता हत्याको विरोधमा नेकपा एमाले दोलखाले सदरमुकाम चरिकोटमा बुधबार प्रदर्शन गरेको छ ।
एमाले सांसद आनन्द पोखरेल र पार्वत गुरुङको नेतृत्वमा निकालिएको विरोधर्यालीमा सहभागीहरुले हत्यारालाई कारबाहीको माग गरेका छन् ।
विरोधर्याली सातदोबाटोबाट सुरु भएर जिल्ला प्रहरी कार्यालय दोलखामा पुगेको थियो ।
अनुसन्धानका लागि बुधबार बिहान जुँगु पुगेको दोलखाका प्रहरी नायव उपरीक्षक रविन कार्कीको टोलीले शंकास्पद ८ जनालाई पक्राउ गरी थुनामा राखेको छ ।
घटनामा संलग्न जोसुकै भएपनि हदैसम्मको कारबाही गर्ने प्रहरी नायव उपरीक्षक कार्कीले बताएका छन् ।
मृतकका आफन्तहरुले बुधबारै हत्यारा विरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरीसमेत दिएका छन् ।
मंगलबार राति ९ बजेतिर दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर-२ जुँगुमा माओवादी कार्यकर्ताको आक्रमणबाट ३३ वर्षीय एमाले कार्यकर्ता कुलबहादुर तामाङको मृत्यु भएको थियो ।
मृतक तमाङ केही दिनअघिमात्रै माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका थिए ।
यसैगरी, झडपकाक्रममा गौरीशंकर गाउँपालिका वडा नम्बर-२ घर भएका एमाले कार्यकर्ता दिलबहादुर बुढाथोकी गम्भीर घाइते भएका छन् ।
घाइते बुढाथोकीको काठमाडौं महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको जनाइएको छ । इमेजखबरमा समाचार छ ।