स्थानीय तह निर्वाचनमा मतदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार गृह जिल्ला चितवन आइपुगेका छन् । उनको साथमा पत्नि सीता, पुत्र प्रकाश पनि आएका छन् ।
आइतबार हुने निर्वाचनमा भरतपुर ४ लंकु मावि मतदान केन्द्रबाट प्रधानमन्त्री दाहालले भोट खसाल्ने छन् । उनको परिवारका सदस्य यहाँको शिवनगरमा बस्दै आएका छन् । भरतपुर महानगरपालीको मेयरमा उनका पुत्री रेणु दाहाल चुवानी मैदानमा छिन् । कांग्रेसले दिनेश कोइरालाको उम्मेदवारी फिर्ता गराइ माओवादी केन्द्रसंग तालमेल गरी मेयरमा दाहाल र उपमेयरमा कांग्रेसका पार्वती शाहलाई अघि सारिएको छ । गृह जिल्लाका मतदाता फकाउन प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई बिहीबार साथै चितवन ल्याई चुनावी सभा गरेका थिए ।
बुद्ध एयरको जहाजबाट स परिवार आएका दाहाल स्थानीय होटल ग्लोबलमा बसेको उनका स्वकीय सचिव प्रकाश दाहालले कान्तिपुरलाई बताए । उनी बस्ने पक्का भएपछि होटलमा बिहानदेखी सेनाले सुरक्षा दिइरहेको थियो । अहिले होटलको मुख्य गेटमा सेना तैनाथ छ ।
भरतपुर विमानस्थल पुगेका संचारकर्मीसँग प्रधामनन्त्री दाहालले कुनै प्रतिक्रिया दिएनन् । आचार संहिताको ख्याल गरी उनी बोल्न नचाहेको माओवादी केन्द्रका एक नेताले बताए । उनका अंगरक्षकले प्रधानमन्त्री दाहालसँग कुनै प्रश्न नगर्न संचारकर्मीलाई अनुरोध गरेका थिए । अन्य बेला भिड लाग्ने विमानस्थलमा कार्यकर्ताहरु निर्वाचनको तयारीमा लागेकाले सुनसान थियो । दाहाललाई स्वागत गर्न जिल्लाका सिमित नेता कार्यकर्ता पुगेका थिए ।
कान्तिपुरबाट