काठमाडौंसहित मध्य र पश्चिमी पहाडी भेगमा बदलीसँगै वर्षा, अझै केही दिन जारी रहने

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौं उपत्यकामा भारी वर्षा भएको छ ।
बिहान ९ बजेसम्मको मौसमी विवरणअनुसार काठमाडौंमा सबैभन्दा बढी ४१ मिलिमिटर वर्षा भएको छ ।
त्यसैगरी धनकुटामा ३७, पोखरामा १४, ताप्लेजुङमा १२ र विराटनगरमा ५ मिलिमिटर वर्षा भएको छ ।
पूर्वी उत्तर प्रदेशमा न्यून चापीय प्रणाली बढेको र पश्चिमी न्यूनचापीय प्रणालीको पनि प्रवेशका कारण काठमाडौं उपत्यकासहित देशका मध्य र पश्चिमी पहाडी भेगमा बदलीसँगै वर्षा गराएको मौसमविद् सुवास रिमालले जानकारी दिए ।
उनका अनुसार पूर्वी न्यूनचापीय प्रणालीको प्रभावले खासगरी मध्य र पूर्वी भेगमा बढी असर परेको छ, ती क्षेत्रमा आज अपराह्न र साँझ बदलीसँगै वर्षा हुनेछ । उक्त प्रणालीका साथै सतही रुपमा बंगालको खाडीबाट आएको जलवास्पयुक्त हावाको पनि समिश्रणले बदलीसँगै वर्षा गराएको मौसमविद् रिमालले बताए ।
त्यस्तै, पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको पश्चिमी भेगबाट प्रवेश गरेका कारण पश्चिमी पहाडी भेगमा दिउँसो बदली र वर्षा हुने जनाइएको छ ।