नेकपा एमालेले कैलालीको टीकापुरमा भएको ८ जना सुरक्षाकर्मी र एकजना शिशुको बीभत्स हत्यामा संलग्नलाई राजनीतिक आवरण दिइ उन्मुक्ति दिन सरकारले गरेको निर्णय फिर्ता गर्न माग गरेको छ ।
शुक्रबार एमालेका सचिव प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गरी सो निर्णय फिर्ता गर्न माग गरेका हुन् ।
विज्ञप्तिमा विधिको शासन, सर्वोच्च अदालत र राष्ट्रिय मानवअधिकार आयोगका पटक-पटकका फैसला तथा निर्देशन एवं मानवअधिकारका विश्वव्यापी मूल्य-मान्यताविपरीतको उन्मुक्ति दिने निर्णयले दन्डहीनता संस्थागत हुने तथा आपराधिक प्रवृत्तिलाई प्रोत्साहन मिल्ने उल्लेख गरिएको छ ।
एमालेले घटनाको तथ्यपूर्ण एवं निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याइ दन्डहीनता अन्त्य गर्न तथा मानवअधिकार र विधिको शासनको पालना गर्नसमेत सरकारलाई आग्रह गरेको छ ।
२०७२ साल भदौ ७ गते टीकापुरमा हिंसात्मक घटनामा ९ जनाको ज्यान गएको थियो । रासस