स्थानीय तहको संख्या वृद्धिले दोस्रो चरणको निर्वाचन सम्पन्न गराउन चुनौती: मुख्य निर्वाचन आयुक्त

 मुख्य निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले स्थानीय तहको संख्या वृद्धिले दोस्रो चरणको निर्वाचन तोकिएको मितिमा नै सम्पन्न गराउन चुनौती भएको बताएका छन् । 
क्षेत्रीय निर्वाचन कार्यालय मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचन आयोगका सदस्य, प्राविधिक लगायतसँग छलफल गरेपछि मात्रै आयोग प्राविधिक र व्यवस्थापकीय दृष्टिकोणले दोस्रो चरणको निर्वाचन जेठ ३१ गते गराउन कति सक्षम रहेको भन्न सक्ने बताएका हुन् । 
उनले संख्या थपघट भएको स्थानीय तहको मतदाता नामावली पून: तयार गर्नुपर्ने, निर्वाचनका लागि आवश्यक सामग्रीको व्यवस्थापन लगायतको काम पून: गर्नुपर्ने जटिलता थपिएको बताए ।
 
आफूले रातदिन कर्मचारीलाई काममा लगाएर एक साताभित्र सम्पूर्ण तयारी गरेर जेठ ३१ गते नै निर्वाचन सम्पन्न गराउने योजना बनाएको तर त्यसमा आयोगका सदस्यहरु तथा सम्पूर्ण कर्मचारीको सहमति आवश्यक रहेको उनले बताए । 
उनले राष्ट्रिय जनता पार्टीलाई चुनाव चिन्ह प्रदान गर्ने कानूनी प्राबधान नरहेको प्रष्ट पारे । 
उनले सरकारलाई निर्वाचन आचार संहिता अनुकुल बजेट ल्याइदिन आग्रह गरे । 
उनले पहिलो चरणको मत गणनाबाट पाठ सिकेर निर्वाचन अधिकृतहरुलाई छिटो छरितो रुपमा मत गणनाको व्यवस्थापन गर्न निर्देशन दिए । कान्तिपुरमा समाचार छ ।