राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगले पार्टी दर्ता गरेर चुनाव चिन्ह दिए आफूहरु चुनावमा जान तयार रहेको बताएका छन्। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल लोकतान्त्रिक फोरम पार्टीका अध्यक्ष विजय गच्छदारसँगको छलफलमा राजपा अध्यक्ष ठाकुरले चुनाव चिन्ह नभएकोले निर्वाचनमा जान नसकिने बाध्यता स्पष्ट पारेका छन्।
स्रोतका अनुसार राजपा नेपालका अध्यक्ष ठाकुरले निर्वाचन आयोगमा पार्टी दर्ता र चुनाव चिन्ह दिलाइदिन यादव र गच्छदारलाई प्रस्ताव गरेका छन्। हामी चुनाव विरोधी होइनौं, तर आयोगमा न पार्टी दर्ता छ, न हामीले चुनाव चिन्ह पाएका छौ, अनि चुनावमा कसरी जाने ? त्रिपक्षीय छलफलमा ठाकुरले भनेको स्रोतले जनाएको छ। जवाफमा यादव र गच्छदारले राजपालाई चुनाव चिन्ह दिलाउन सक्दो पहल गर्ने आश्वासन दिएका छन्। फोरम नेपालका अध्यक्ष यादव, लोकतान्त्रिक पार्टीका अध्यक्ष गच्छदार र राजपा अध्यक्ष ठाकुरबीच ठाकुर निवास सानोठिमी भक्तपुरमा बिहिबार दिउँसो चुनावमा तालमेलको विषयमा बृह्त छलफल भएको थियो। ६ वटा मधेश केन्द्रीत दल मिलेर हालै बनेको राजपा नेपाल निर्वाचन आयोगमा दर्ता छैन। चुनाव चिन्ह पनि राजपाले पाएको छैन।
पार्टी एकीकरण गर्नु अघि राजपाका ६ वटै दलले पुरानो चुनाव चिन्ह, लोगो र झन्डा प्रयोग नगर्ने निर्णय गरेका थिए। छलफलमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावमा साझा उम्मेदबारी दिनको लागि सहकार्य गर्न ठाकुर र गच्छदारसँग प्रस्ताव गरेका छन्। मधेशी जनताको चाहना र भावना अनुसार स्थानीय चुनावमा सहकार्य आवश्यक रहेको यादवको तर्क थियो।
स्थानीय तहको दोस्रो तहको चुनावमा सहकार्य गरी साझा उम्मेदबार खडा गर्ने यादवको प्रस्तावलाई गच्छदारले सकारात्मक रुपमा लिएर मिलेर अघि बढ्न सकिने बताएका छन्। यद्यपि, त्रिपक्षीय छलफलमा कुनै सहमति जुट्न सकेन।
ठाकुरले आन्दोलनको प्रसङ्ग निकाल्दा यादव र गच्छदारले मधेशको उपलब्धिलाई संस्थागत गर्न आन्दोलनकै रुपमा स्थानीय तहको चुनावलाई सदुपयोग गर्न सुझाव दिएका थिए । सेतोपाटीमा समाचार छ ।