भरतपुर महानगरपालिकाको मतगणनास्थलमा ९० वटा मतपत्र च्यातिएको अवस्थामा भेटिए

भरतपुर महानगरपालिकाको मतगणनास्थलमा ९० वटा मतपत्र च्यातिएको अवस्थामा भेटिएको छ । माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि उत्पन्न विवादकै बीच आज भएको च्यातिएको मतपत्र गणनाको क्रममा यस्तो भेटिएको हो ।
भरतपुर महानगरको १९ नम्बर वडाको मत गन्ने क्रममा माओवादी केन्द्र कार्यकर्ताले मतपत्र च्यातेका थिए । १९ नम्बर वडामा कूल २८ सय ९७ मत खसेको थियो । त्यसक्रममा १८ सय ९ मत गनिसकिएको थियो ।
गन्न बाँकीमध्ये ९ सय ९८ मत सही अवस्थामा रहेको र ९० मत च्यातिएको अवस्थामा भेटिएका छन् । च्यातिएकामध्ये अधिकांश मतपत्र धुजाधुजा छन् । ती मतपत्र गन्न नमिल्ने अवस्थामा छन् । 
दलका प्रतिनिधि, उम्मेदवार, प्रहरीको रोहबरमा च्यातिएको मतपत्रको गणना गरिएको थियो । 
मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले च्यातिएको मतपत्रबारे आफूले निर्वाचन  आयोगलाई आजै प्रतिवेदन पठाउने र आयोगले गर्ने निर्णय कार्यान्वयन गर्ने प्रतिक्रिया दिएका छन् । कान्तिपुरमा समाचार छ ।