संसद सुचारु गर्ने तीन दलको सहमति, मंगलबार देउवा प्रधानमन्त्री बन्ने निश्चित

प्रमुख तीन दल मंगलबार (भोलि)देखि व्यवस्थापिका-संसद बैठक सुचारु गर्न सहमत भएका छन् ।
सोमबार दिउँसो सभामुख ओनसरी घर्तीको पहलमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा संसदको गतिरोध अन्त्य गर्ने सहमति बनेको हो ।
सहमतिअनुसार मंगलबार ११ बजे बस्ने संसदको पहिलो बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् भने पहिलो बैठकमै बहुमतीय प्रणालीबाट नयाँ प्रधानमन्त्री चयनका लागि राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाउने कार्यक्रमसमेत तय गरिएको छ ।
त्यसपछि बस्ने दोस्रो बैठकमा नयाँ प्रधानमन्त्री चयनका लागि मतदान हुने जनाइएको छ ।
प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवाकोमात्रै उम्मेदवारी परेकाले मंगलबार देउवा प्रधानमन्त्री बन्ने निश्चित भएको छ । इमेजखबरमा समाचार छ ।