प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा दोस्रो चरणको निर्वाचनमा लाग्न आग्रह

नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले तीनवटा निर्वाचन आफ्नो सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् । नेपाल विद्यार्थी सङ्घले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा बिहीबार पार्टी कार्यालय सानेपामा गरेको  स्थानीय निर्वाचन परिचालन विषयक अभिमुखीकरण कार्यक्रममा प्रधानमन्त्री देउवाले दोस्रो चरणको निर्वाचनमा लाग्न सबैलाई आग्रह गरे । 
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउनुपर्ने भन्दै निर्वाचनमा लाग्न नेता, कार्यकर्ता तथा विद्यार्थीलाई निर्देशन दिए । उनले भने – निर्वाचन जिताउन विद्यार्थीहरुको ठूलो भूमिका हुन्छ, तपाईंहरु निर्वाचनमा लाग्नुहोस् ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आधिकारिक उम्मेदवारलाई भोट हाल्नका लागि विद्यार्थीले जिल्ला जिल्लामा गएर जनचेतना फैलाउनु जरुरी रहेको बताए । 
वरिष्ठ नेता पौडेलले स्थानीय तहको निर्वाचन र अरु निर्वाचनमा पार्टीभित्र हुने अन्तर्घात रोक्न युवा विद्यार्थीको ठूलो भूमिका रहेको उल्लेख गरे । 
नेविसङ्घका अध्यक्ष नैनसिंह महरले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा कांग्रेसले सोचेजस्तो परिणाम ल्याउन नसकेको भन्दै कांग्रेसलाई जिताउन नेविसङ्घले यस्तो कार्यक्रमको गरेको बताए । रासस