दोस्रो चरणको निर्वाचनका लागि खोटाङमा उम्मेदवारको चयनपछि चुनावी माहोल तात्यो

 दोस्रो चरणको निर्वाचनका लागि जिल्ला जिल्लामा उम्मेदवारको चयनपछि चुनावी माहोल तातेको छ । खोटाङ जिल्लामा कांग्रेसले बल्ल उम्मेदवारको टुंगो लगाएको छ । दुई नगरपालिका र आठ गाउँपालिकाका प्रमुख तथा उपप्रमुखमा आकांक्षी बढी भएपछि विवाद चर्कंदा टिकटको छिनोफानो हुन सकेको थिएन । क्षेत्रमा टिकटको सहमति हुन नसकेपछि जिल्ला हुँदै केन्द्रमा पठाइएको थियो । 
कांग्रेस जिल्ला सभापति नरेशकुमार श्रेष्ठका अनुसार रुपाकोट झुवागढी नगरपालिका प्रमुखमा राजनसेर राई र उपप्रमुखमा कान्ता बस्नेत, हलेसी तुवाचुङ नगरपालिका प्रमुखमा इबन राई र उपप्रमुखमा विमला राईलाई उम्मेदवार बनाउने छिनोफानो गरेको हो । त्यस्तै ऐंसेलुखर्क गाउँपालिका प्रमुखमा विश्वनाथ निरौला र उपप्रमुखमा शान्ति राई, केपिलासगढी गाउँपालिका प्रमुखमा समीर राई र उपप्रमुखमा गोपी निरौला, लामीडाँडा गाउँपालिका प्रमुखमा जनक कार्की, र उपप्रमुखमा शोभा पाण्डे, साकेला गाउँपालिका प्रमुखमा इच्छुराम राना र उपप्रमुखमा सरिता खडका, जन्तेढुङ्गा गाउँपालिका प्रमुखमा खेमबहादुर खडा र उपप्रमुखमा अनिता राई, बराहापोखरी गाउँपालिका प्रमुखमा शालिकराम बञ्जरा र उपप्रमुखमा पुष्पलक्ष्मी श्रेष्ठलाई टिकट दिने निधो भएको श्रेष्ठले बताए । दिप्रुङ गाउँपालिका प्रमुख उपप्रमुख भने शुक्रबार साँझसम्म टुंगो लाग्न नसकेको श्रेष्ठले सुनाए ।
उम्मेदवारको छिनोफानो गर्न नसक्दा कांग्रेस कार्यकर्ता बिलखबन्दमा परेका थिए । ढिलो गरी टिकटको टुंगो लाग्दा भोट माग्नसमेत समस्या भएको तरुण दल खोटाङका अध्यक्ष भीषण राईले बताए । ढिलै भए पनि टिकट टुंगो लागेको छ । राईले भने, अब जनताको घरदैलोमा गएर भोट माग्ने वातावरण बनेको छ । कान्तिपुरमा समाचार छ ।