बर्दियाको स्थानीय निर्वाचनमा ५३ वटा मतदानस्थललाई अतिसंवेदनशील

बर्दिया जिल्लाको स्थानीय निकाय निर्वाचनमा ५३ वटा मतदानस्थललाई अतिसंवेदनशील मानिएको छ । भारतसँग जोडिएको सीमावर्ती क्षेत्र, बासगढीलगायतका ठाउँलाई अतिसंवेदनशील क्षेत्रका रुपमा लिएका प्रहरी उपरीक्षक भरतबहादुर बोहोराले जनाए । ती स्थानमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । 
यसै गरी जिल्लामा संवेदनशील ४२ र सामान्य ५८ मतदान स्थल रहेका छन् । ती क्षेत्रमा सुरक्षाका पर्याप्त जनशक्ति परिचालन गरिएको छ । निर्वाचनका लागि नेपाली सेना करिब ५ सय, सशस्त्र प्रहरी ५ सय, नेपाली प्रहरी १ हजार २ सय र म्यादी प्रहरी १ हजार ६ सय बढी परिचालन गरिने स्थानीय प्रशासनले जनाएको छ । निर्वाचन अघि ४८ घण्टा सीमा बन्द गरिने र सिमामा अपराधिक गतिविधि रोक्न भारतीय सीमा सुरक्षा बलले सहयोग गर्ने भएको छ । सीमावर्ती क्षेत्रमा दुवै मुलुकका सुरक्षाकर्मीले संयुक्त गस्ती गर्दे आएका छन् ।
निर्वाचनलाई मध्यनजर राख्दै राति ९ बजेपछि पसल, होटल बन्द गरिएको छ । शंकास्पद गतिविधि गर्नेलाई तत्काललाई नियन्त्रणमा लिन सादा पोसाकका प्रहरी परिचालन गरिएको छ । निर्वाचनको एक सातादेखि मदिराजन्य पदार्थमा रोक लगाइने भएको छ । निर्वाचनका लागि सम्पुर्ण सुरक्षा व्यवस्था मिलाइएको स्थानीय प्रशासनले जनाएको छ ।
निर्वाचनलाई मध्यनजर राख्दै बर्दिया गेरुवा नगरपालिकास्थित पाताभारमा महिला प्रहरीसँगै म्यादीले संयुक्त गस्ती गर्दै । कान्तिपुरमा समाचार छ ।