अछाममा स्थानीय निर्वाचनभर मदिरा किनबेचमा रोक

सुदूरपश्चिमको पहाडी जिल्ला अछाममा स्थानीय तहको निर्वाचनभर मदिरा किनबेचमा स्थानीय प्रशासनले रोक लगाएको छ । चार वर्षदेखि खुला रूपमा बेचबिखन हुँदै आए पनि चुनावका बेला जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको हो । स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मदिराजन्य पदार्थ बेचबिक्रीमा रोक लगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
राजनीतिक दल, स्थानीय प्रशासन, नागरिक समाज, सामाजिक संघसंस्थाबीचको समझदारीअनुसार निर्वाचनलाई असर पुर्याउने गतिविधि नियन्त्रण गर्न लागिएको हो । निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा गराउन सरोकारवालाको प्रतिबद्धताअनुसार मदिरा निषेध गरिएको जिल्ला प्रहरी प्रमुख निरञ्जनदत्त भट्टले बताए । प्रहरीले सदरमुकामका होटलहरूमा असार ४ देखि मदिरा बिक्री नगर्न निर्देशन दिएको छ । शंका लागेका होटलमा जुनसुकै समय अनुगमन गर्न सक्ने पनि स्पष्ट पारेको छ ।
अछाममा ४७ मतदानस्थल सुरक्षाका दृष्टिले अति संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । १२९ मतदानस्थल र १८५ केन्द्र रहेको अछाममा ६६ मतदानस्थल संवेदनशील र १६ सामान्य रहेको जनाइएको छ । निर्वाचन लक्षित सुरक्षा व्यवस्थालाई मजबुत बनाउन जिल्लाका मतदान केन्द्रलाई वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए । कान्तिपुरमा समाचार छ ।