मतदानको समयमा भारी वर्षा हुने, बिहानै भोट मतदाताहरुलाई सुझाव
आषाढ़ १३ गते, २०७४ मा प्रकाशित
मौसमविद्हरुले बुधबार हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी हुने मतदातालाई वर्षाबाट जोगिन सामग्रीको जोहो गर्न आग्रह गरेका छन् ।
उनीहरुले मतदानको समयमा वर्षा हुनसक्ने सम्भावना रहेको भन्दै वर्षाबाट जोगिएर मतदान गर्ने गरी आवश्यक सामग्रीको जोहो गर्न मतदाताहरुलाई सुझाव दिएका हुन् ।
मनसुन सुरु भएको दुई साता भइसकेको र देशैभर मनसुन सक्रिय रहेको भन्दै मौसमविद्हरुले मतदातालाई वर्षाबाट जोगिने उपाय खोज्न आग्रह गरेका छन् । उनीहरुले सकेसम्म बिहानै मतदान गर्न पनि भनेका छन् ।
भोलिबाट कतिपय ठाउँमा भारी वर्षाको सम्भावना उच्च रहेको भन्दै पूर्वतयारी गर्न मौसमविद्हरुले मतदातालाई सुझाव दिएका हुन् ।
बुधबार मध्याह्नपछि र बेलुकी भारी वर्षा हुने सम्भावना उच्च रहेकाले मतदाताहरुलाई बिहानको समयमा नै मतदान गर्न मौसमविद्हरुले सुझाव दिएका हुन् ।
चुनाव हुन लागेको १, ५ र ७ नम्बर प्रदेशका हिमाली र पहाडी क्षेत्रमा मध्याह्नपछि भारी वर्षा हुने अनुमान मौसमविद्हरुको छ ।
बिहानीपख हल्का वर्षा भएपनि केही समय भने आकाश खुल्ने र मध्याह्नपछि र बेलुकी भने भारी वर्षा हुने मौसमविद् राजु प्रधानांगले बताए ।
मध्याह्नपछि विस्तारै मनसुन सक्रिय हुँदै जाने हुँदा बिहानपख नै मतदान गराउन सकियो भने धेरै मत खस्ने मौसमविद्हरुको भनाइ छ ।
पश्चिमी वायुका कारण सक्रिय बनेको मनसुन भारतको बिहार-उत्तरप्रदेशसँग सिमाना जोडिएको प्रदेश नम्बर-१ र ५ तथा उत्तराखन्डसँग सिमाना जोडिएको ७ नम्बर प्रदेशमा भारी वर्षा हुने अनुमान गरिएको हो ।
त्यसो त निर्वाचन आयोगले पनि वर्षाका कारण मतदानकार्य प्रभावित हुनसक्ने भन्दै आवश्यक व्यवस्था मिलाइएको जनाएको छ । इमेजखबरमा समाचार छ् ।