बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवको घरमा छापा बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवको घरमा छापा

भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई)ले राष्ट्रिय जनता दलका प्रमुख तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवको पटनास्थित घरसहित १२ स्थानमा छापा मारेको छ ।
नेता यादव केन्द्रीय रेल मन्त्री हुँदा होटल मर्मतका लागि दिएको टेन्डरमा घोटाला भएको भन्दै अनुसन्धान गरिरहेको सीबीआईले छापा मारेको हो । यादवको पटनास्थित घरसँगै दिल्ली, हरियाणाको गुडगाउँ, उडिसाको पुरी र झारखण्डको राँचीमा रहेका यादव परिवारको घर तथा सम्पत्तिमा शुक्रबार बिहान छापा मारिएको हो ।
लालुले स्टेसनसँगै रहेका भारतीय रेल्वेका होटलहरूको मर्मत र सञ्चालनका लागि दिएको टेन्डरमा पनि घोटाला गरेको आरोप लागेको थियो । यादव, उनकी पत्नी रावडी देवी र बिहारका अहिलेका उपमूख्यमन्त्री तेजस्वीविरूद्ध अभियोग लागेको छ ।
छापा मार्दा यादव भने पटनास्थित घरमा नरहेको र सीबीआईकै अदालतमा उपस्थित हुन राँची गएको बताइएको छ । यादवमाथि गाईबस्तुको दाना सम्बन्धी अर्को भ्रष्टाचार मुद्दामा पनि छानविन भइरहेको छ । (एजेन्सी)