वर्षायाममा हुनसक्ने झाडापखाला महामारी रोग नियन्त्रणका लागि रसुवाका तीन स्थानमा औषधि भण्डारण गरिएको छ ।
जिल्ला स्वास्थ्य प्रमुख डा.झलक शर्मा गौतमले दक्षिणी रसुवाको कालिकास्थान मध्यभागमा धुन्चे र उत्तरी क्षेत्रको स्याफ्रुबेँसीमा महामारी रोग रोकथामका आवश्यक औषधि भण्डारी गरिसकिएको र पाँचजना चिकित्सक जिल्लास्तरमा तैनाथ राखिएकाले उपचारको सवालमा जस्तोसुकै परिस्थिति आएपनि जिल्लावासी आत्तिनु पर्ने अवस्था नरहेको बताए ।
सबै नागरिकले पानी उमालेर खाने, सन्तुलित भोजन खाने, चर्पीमा दिसापिसाब गर्ने÷गराउने, साबुनपानीले हात धुने, नियमित व्यायाम गर्ने, अर्गानिक सागसब्जी खोजी राम्रोसँग पखालेर पकाउने, मासु खाने परम्परा हटाउने, मदिरा र धूमपान सेवन पूर्णरुपमा बन्दगरी शारीरिक स्वस्थ्यता कायम गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।
चिकित्सकहरुले शरीरका अंगमा कतै असहज हुनासाथ स्वास्थ्यकर्मीसँग परामर्श लिने र सके ६ महिना नसके कम्तीमा वर्षको एकपटक भएपनि स्वास्थ्य परीक्षण गर्न सुझाव दिएका छन् ।
भूकम्पपछि त्रिपालमुनिको उपचार सेवा भएपनि मुटु, फोक्सो, मिर्गौलाको अवस्था, दिसापिसाब, खकार परीक्षण तथा एक्सरेसमेतका उपकरण व्यवस्था भइसकेकाले विगतको तुलनामा रसुवा जिल्लाको उपचार पद्धति निकै सरलीकृत भइसकेको चिकित्सकको दाबी रहेको छ ।
रसुवा जिल्लामा एक जिल्ला अस्पताल, एक प्राथमिक स्वास्थ्य केन्द्र, १८ ओटा स्वास्थ्य चौकी सञ्चालनमा रहेको, भूकम्पपछि लाङ्टाङमा रोकिएको उपचार सेवा सञ्चालनमा ल्याइसकिएको, विदेशका रोग नेपाल नभित्रियोस् भनेर नेपाल-चीनको सीमा रसुवागढीमा हेल्थ डेस्क खोलिएको बताउँदै जनस्वास्थ्य अधिकृत वसुन्धरा शर्माले ग्रामीण महिलालाई सुत्केरी गराउन जिल्लाभित्र १२ ओटा बर्थिङ सेन्टर सञ्चालन भइरहेको र आवश्यक जनशक्तिको समेत व्यवस्थापन भइसकेको बताए ।
लाङ्टाङबाहेक अन्य स्वास्थ्य चौकी गैससको सहयोगमा प्रिफेब मोडलबाट निर्माणभई व्यवस्थित भवनबाट सेवा सञ्चालन भइरहेको र पालमुनिको जिल्ला अस्पताल अब एक दुई महिनामा व्यवस्थित हुने अपेक्षा राखिएको जनस्वास्थ्य अधिकृत शर्माले जानकारी दिँदै प्रिफेव मोडेलबाट रेडक्रस सोसाइटीले अस्पताल निर्माण कार्य द्रुतरुपमा अगाडि बढाइरहेको समेत बताए ।
पहिला-पहिला खकार जाँच्न भक्तपुर र अन्य उपचारका लागि वीर अस्पताल जानुपथ्र्यो, सडक नहुँदा नुवाकोटको त्रिशूलीसम्म दुईदिनको बाटो हिँडेर बिरामी बोकेर काठमाडौं लैजानुपर्ने अवस्था थियो ।
अब डाक्टर पनि नियमित बस्ने वातावरणले रसुवाका जनताको उपचारमा निकै सहजता आएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए । रासस