प्रधानमन्त्री शेरबहादुर देउवाले पुनःनिर्माणको कामलाई तीव्रता दिन निर्देशन दिएका छन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले पुनःनिर्माणको कामले गति लिन नसकेको भन्दै कामलाई तीव्रता दिन निर्देशन दिए ।
बैठकले पुनःनिर्माण प्राधिकरण निर्देशक समितिले आगामी वर्षका लागि पेस गरेको कार्ययोजना पारित पनि गरेको छ ।
पुनःनिर्माणका लागि आगामी वर्षका लागि १ खर्ब ४५ करोड रुपैयाँ बेजट पारित गरिएको हो ।
बैठकमा पुनःनिर्माणको काम प्रभावकारी हुन नसकेको भन्दै नेकपा एमालेले आलोचना गरेको थियो ।
बैठकपछि एमाले उपाध्यक्ष भीम रावलले भूकम्पपीडितले न्यायोचित राहत र किस्ता रकम पाउन नसकेको भन्दै कामलाई प्रभावकारीरुपमा अगाडि बढाउने विषयमा छलफल भएको बताए ।
प्राधिकरणका कार्यकारी निर्देशक डा. गोविन्द पोखरेलले भौतिक संरचना, सम्पदाहरु र निजी आवास निर्माणले गति लिएको दाबी गरे ।
उनले यस आर्थिक वर्षमा ४० हजार घर निर्माण भएको र आगामी दसैंसम्ममा १ लाख ५० हजार घर निर्माण गरिसक्ने लक्ष्य रहेको बताए ।
उनले भूकम्पपीडितलाई तेस्रो किस्ताबापतको रकम वितरण गरेको जानकारी पनि दिए । काम केही सुस्त देखिएपनि सन्तोषजनक नै रहेको उनको दाबी थियो । इमेजखबरमा समाचार छ ।