तेह्रथुमका १५ भन्दा बढी बस्ती बाढी, पहिरोको उच्च जोखिममा

तेह्रथुम जिल्लाका साविकका नौ गाविसका १५ भन्दा बढी बस्ती बाढी, पहिरोको उच्च जोखिममा परेका छन् । निरन्तरको वर्षासँगै जिल्ला दैवी प्रकोप उद्धार समिति, रेडक्रस, प्रहरीलगायत संस्थाले विपद क्षेत्रको पहिचान गरी साविकका ९ गाविस पहिरोको उच्च जोखिममा रहेको निष्कर्ष निकालेका हुन् । 
रेडक्रसको प्राविधिकसहितको टोलीले स्थलगत अध्ययन गरी यी क्षेत्र पहिरोको उच्च जोखिममा रहेकाले वर्षात्‌को कुनै पनि समयमा पहिरो बग्न सक्ने र जनधनको क्षति हुने चेतावनी दिएको छ । रेडक्रसले जिल्लाभरका गाविसको स्थलगत अध्ययन गरी पहिरोलाई न्यून, मध्यम र उच्च गरी तीन भागमा वर्गीकरण गरेको सभापति भूपतीलाल श्रेष्ठले बताए ।
वर्षात्‌को समयमा जमिन कमजोर हुने र पहिरोको जोखिम समेत बढ्ने भएकाले जोखिममा रहेका बस्तीसम्म पुगेर सचेतना र पूर्वतयारीका कार्यक्रमसमेत सञ्चालन गरिरहेको जिल्ला दैवी प्रकोप उद्धार समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । यी स्थानमा बारम्बार पहिरो गइरहने, भिरालो जमिन, अव्यवस्थित सडक निर्माणलगायत कारणले गर्दा बाढी पहिरोको उच्च जोखिम देखिएको रेडक्रसले जनाएको छ । गत असार १६ गते राति म्याङलुङ नगरपालिका ५ आमदेनमा पहिरोले घर बगाउँदा एकै परिवारका ३ जनाको मृत्यु भएको थियो । पहीरोमा परिवारका अन्य तीनजना गम्भीर घाइते भएका छन् । उनीहरुको अहिले पनि उपचार चलिरहेको छ । कान्तिपुरमा समाचार छ ।