एमाले बैतडीले स्थानीय तह निर्वाचनमा जिम्मेवार पदमा बसेर पार्टी र उम्मेदवारलाई असहयोग गरेको भन्दै १७ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । सोमबार बसेको जिल्लाको १९ औं पूर्ण बैठकले पार्टीका उम्मेदवारविरुद्ध उम्मेदवार बनेका, उम्मेदवारलाई असहयोग गर्ने १७ जना जिल्लास्तरका कार्यकर्तालाई कारबाही गरेको हो ।
जिल्ला कमिटी सदस्य नरेन्द्र भट्ट, प्रकाश साउद, जानकी भाट, भगीरथसिंह कुँवर, राजेश्वरी कुँवर, कृष्णसिंह साउद, प्रदीप बोहरा, दलबहादुर ऐर, नागी धानुक, तस्बिर बोहरालाई साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको जिल्ला सचिव लीलाधर भट्टले बताए । यस्तै पूर्वअञ्चल सल्लाहकार सदस्य नरबहादुर विष्ट, पूर्वजिल्ला उपसचिव मोहन बराल, जिल्ला सल्लाहकार शंकरसिंह भाट, स्कुल विभाग सदस्य लोकराज भट्ट, अनेमसंघ जिल्ला कोषाध्यक्ष चन्द्रकला साउद, जिल्ला सदस्य उत्तरा अवस्थी र शिक्षक संगठन सहसचिव गणेश बोहरालाई समेत कारबाही गरिएको भट्टले बताए । कारबाही गरिएकामध्ये चन्द्रकला साउद राप्रपाबाट मेलौली नगरपालिका उपप्रमुख र कृष्णसिंह साउद सिगास गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेका थिए ।
बैठकले निर्वाचनको समीक्षा गर्दै गाउँ र नगरका अन्य कार्यकर्ताको भूमिका छानबिन गरी जिम्मेवारीमा बसेर अन्तर्घात गर्नेलाई कारबाही गर्न वडातहबाट साउन १५ भित्र जिल्लामा माग गरेको एमाले बैतडीले जनाएको छ । बैतडीका १० स्थानीय तहमध्ये एमालेले ७ तहमा प्रमुख र ५ मा उपप्रमुखमा पराजित भएको थियो । कान्तिपुरमा समाचार छ ।