भरतपुर -१९ मा यथाशीघ्र पुनः निर्वाचन गराउन चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन

निर्वाचन आयोगले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर-१९ मा यथाशीघ्र पुनः निर्वाचन गराउन चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।
आयोगको सोमबार बसेको बैठकले भरतपुर-१९ का सबै मतदान केन्द्रमा यथाशीघ्र मतदान हुने स्थान, मिति र समय तोकी आवश्यक सुरक्षा व्यवस्था मिलाइ यथाशीघ्र पुनः मतदान गराउन निर्देशन दिएको हो ।
सर्वोच्च अदालतबाट आएको आदेश र प्रचलित ऐनअनुसार गत जेठ २० गते भएको निर्णयलाई नै आधार बनाएर महानगरपालिका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
आयोगले गत जेठ २० गते गरेकोे निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएपछि स्थानीय तह निर्वाचन ऐनको दफा ५० को उपदफा ५ बमोजिम मतदान रद्ध गरिएकाले उक्त निर्देशन दिइएको उल्लेख गरेको छ ।
आयोगले जारी गरेको विज्ञप्तिमा भरतपुर-१९ का सबै मतदान केन्द्रमा मतदान हुने स्थान, मिति र समय तोकी आवश्यक सुरक्षा व्यवस्था मिलाइ यथाशीघ्र पुनः मतदान गराउन र सबै मतदान केन्द्रबाट मतपेटिका प्राप्त भएपछि मतगणनाकार्य सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको उल्लेख छ ।
गत वैशाख ३१ गते मतदान भइ मतगणनाकाक्रममा जेठ १५ गते ९० ओटा मतपत्र च्यातिएपछि मतगणना स्थगन भएको थियो ।
स्थगनपछि आयोगले गत जेठ २० गते पुनः निर्वाचन गराउने निर्णय गरेको थियो ।
आयोगको उक्त निर्णयविरुद्ध परेको रिट आइतबार (हिजो) सर्वोच्च अदालतले खारेज गरिदिएपछि आयोगको पछिल्लो निर्णय आएको हो । इमेजखबरमा समाचार छ ।