देश बाढीपहिरोको चपेटामा ! मृत्युको संख्या ७०, बेपत्ता ५० जना

देशभरका २६ जिल्ला बाढीपहिरोको चपेटामा परेका छन् । बाढीपहिरोबाट मृत्यु भएकाको संख्या ७० पुगेको छ भने ५० जना बेपत्ता छन् । 
गृहमन्त्री जनार्दन शर्माले मन्त्रिपरिषद्को आइतबारको आकस्मिक बैठकमा क्षतिको आँकडा प्रस्तुत गरेका थिए । त्यसलगत्तै सरकारले बाढीपहिरोबाट मृत्यु भएका व्यक्तिका परिवारलाई दुई/दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताए । गृह मन्त्रालयका अनुसार बाढी र पहिरोका कारण ३४ हजार घर डुबानमा परेका छन् । करिब ४ सय घर क्षतिग्रस्त छन् । 
सरकारले उद्धार, पुन:स्थापना तथा खाद्यान्नलगायत राहत वितरणका लागि सोमबार बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका सबै हेलिकप्टर भाडामा लिएर परिचालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बिहानै बाढीपहिरोग्रस्त क्षेत्रको भ्रमण गर्नेछन् । 
मन्त्री बस्नेतका अनुसार प्रधानमन्त्रीको भ्रमणपछि थप राहत प्याकेजको घोषणा हुनेछ । घाइतेको तत्काल नि:शुल्क उपचार गर्ने निर्णय पनि भएको छ । राजधानीलगायत नजिकका सहरबाट खाद्यान्न किनेर वितरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ । बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीको एक/एक महिनाको तलब-सुविधा पीडितलाई प्रदान गर्ने निर्णय गरेको छ । कान्तिपुरमा समाचार छ ।