बाढी-पहिरोले देशलाई ठूलो विपत्तिमा पुर्‍याएको भन्दै डा. केसीले अनशन स्थगित गरे

चिकित्सा शिक्षाको क्षेत्रमा सुधारको माग गर्दै विगत २३ दिनदेखि आमरण अनशनमा बसेका प्रा. डा. गोविन्द केसीले मंगलबार साँझ अनशन स्थगित गरेका छन् ।
बाढी-पहिरोले देशलाई ठूलो विपत्तिमा पुर्‍याएको भन्दै डा. केसीले अनशन स्थगित गरेका हुन् ।
मंगलबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जको अनशनस्थलमा पत्रकार सम्मेलन गर्दै डा. केसीले सबैको ध्यान विपत्तितर्फ केन्द्रित गर्न बाधा नपुगोस् भनेर अनशन स्थगित गरेको बताए ।
मेडिकल माफियाविरुद्धको आन्दोलन जारी रहेको भन्दै उनले माथेमा प्रतिवेदन समेटेर चिकित्सा शिक्षा ऐन नबनाए पुनः अनशन बस्ने पनि बताए ।
पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा सत्याग्रह स्थगित गरिएपनि ऐन बनाउने क्रममा तोडमोड गरिए फेरि अनशनमा उत्रने चेतावनी दिइएको छ ।
अनशन स्थगित गरेलगत्तै डा. केसीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालकै आइसीयुमा भर्ना गरिएको छ । इमेजखबरमा समाचार छ ।