पूर्वमा अज्ञात रोगबाट चार बालबालिकाको मृत्यु, रोगको पहिचान हुन सकेन्

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अज्ञात रोगबाट ४ जना बालबालिकाको मृत्यु भएको छ । 
प्रतिष्ठानको बालरोग विभागका चिकित्सकहरुले समेत रोगको पहिचान गर्न सकेका छैनन् । मृत्यु हुने बालबालिका सबै ६ देखि १४ वर्षका छन् । प्रतिष्ठानको सूचना विभागले दिएको जानकारीअनुसार साउन १५, २४, ३१ र भदौ १ गते ती बच्चाहरु प्रतिष्ठानको पेडियाट्रिक इमरजेन्सीमा उपचारका लागि ल्याइएका बेला प्रारम्भिक उपचार गर्दागर्दै मृत्यु भएका थिए । मृतकहरु इटहरी उपमहानगरपालिका-१० बस्ने राजु कार्की, सप्तरीको कन्चनपुर-१० बस्ने प्रितीकुमारी चौधरी, उदयपुरको ठोकशिला-९ बस्ने धरान-१७ बस्ने प्रशान्त राई रहेको प्रतिष्ठानका सूचना अधिकृत सुजेन्द्र तामाङले बताए ।
 
सुरुमा उच्च ज्वरो आउने, रगत छाद्ने, पेट दुख्ने लक्षण देखिएको उपचारमा संलग्न चिकित्सक डा. प्रकाश पौडेलले बताए । उनले भने,  प्रतिष्ठानको आकस्मिक कक्षमा अन्तिम अवस्थामा ल्याएका बाललिकाको प्रारम्भिक उपचार गर्दागर्दै मृत्यु भएका छन् । हामी डाइग्नोसिस गर्ने प्रयासमा छौं । उनका अनुसार अस्पतालमा ल्याउदा ज्वरो आएर आएको हुन्छ । बालरोगसम्बन्धी चिकित्सकहरुले डाइग्नोसिस गर्न नपाउँदै रगत वान्ता गर्ने, पेट दुख्ने र श्वास फेर्न नसक्ने भई एक/दुई घण्टामै मृत्यु हुने गरेकाले प्रतिष्ठानले काठमाडौंको टेकुस्थित इपिडेमीयोलोजी तथा रोग नियन्त्रण महाशाखालाई यसबारे जानकारी गराएको छ । 
बालरोग आकस्मिक कक्षका चिकित्सक डा बसन्त राईले भने,  हामीले अहिलेसम्म रोगबारे थाहा पाउन सकेका छैनौं । स्क्रफटाइफस, डेंगु, हान्टा भाइरस जस्तै कुनै कमन रोग हुनसक्छ तर हामीले परीक्षण गर्नै नपाई तत्कालै बिरामीको मृत्यु भइहाल्छ । उनले भाइरल हेमोरेजिक फिभर हुनसक्ने बताए ।
 
प्रतिष्ठानको बालरोग विभागमा दक्ष विषेशज्ञ, आधुनिक उपकरण रहेका छन् । बालरोग विभागका प्रमुख प्रा डा रुपासिं राजभण्डारीले भनिन्, उपचारका लागि ल्याइएका बच्चालाई पहिले उसको ज्यान बचाउने उपाय गर्नुपर्ने हुन्छ । तर, आवश्यक प्रक्रिया सुरु नगर्दै मृत्यु हुने गरेकाले उसको रगत, दिसा पिसाबको ल्यावटेस्ट गर्नै पाएका छैनौं । उनले सरकारको स्वास्थ्य मन्त्रालयसँग डाइग्नोसिसका लागि र थप अनुसन्धानका लागि पत्राचार गरेको बताइन् । कान्तिपुरमा समाचार छ ।