बाढी र डुबानका कारणले क्षति भएको भौतिक संरचनाको तत्काल निर्माण गरी जनजीवन सहज बनाउन निर्देशन

व्यवस्थापिका-संसदको विकास समितिले हालैको बाढी र डुबानका कारणले भएको भौतिक पूर्वाधारको क्षति र निर्माणसम्बन्धी एकीकृत कार्ययोजना प्रतिवेदन समितिमा पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।
हालैको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानका कारण देशको अधिकांश ठाउँमा भौतिक संरचनामा क्षति पुग्दा जनजीवन प्रभावित भएको छ ।
समितिको मंगलबार बसेको बैठकले ती भौतिक संरचनाको तत्काल निर्माण गरी जनजीवन सहज बनाउन समितिले निर्देशन दिएको हो ।
यसैगरी, साधन-स्रोत एवं बजेटको अभाव हुन नदिन समितिले अर्थ मन्त्रालय, भौतिक पूर्वाधार र गृह मन्त्रालयलगायत सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।
बाढी र डुबानले पारेको प्रभाव र सेवा सन्चालनको अवस्थाको स्थलगत अनुगमनका लागि समितिले एक संसदीय टोली बनाउने निर्णय पनि गरेको छ ।
पुललगायतका भौतिक संरचना निर्माणमा गुणस्तर कमजोर हुँदा राज्यले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै समितिले ठूला संरचना बनाउँदा भू–बनोटअनुसार अध्ययन गरी बनाउन सरकारको ध्यानाकर्षण पनि गरेको छ । इमेजखबरमा समाचार छ ।