भाइरल ज्वरोले बिहीबार र शुक्रबार गरी तेह्रथुम जिल्लामा दुईजनाको मृत्यु भएको भएको छ । ज्वरोले लालीगुराँस नगरपालिका-३ बसन्तपुर र ४ नम्बर फुलेकमा दुई महिलाको मृत्यु भएको हो । ज्वरोले थलिएर बसन्तपुर मुसाङखेलकी ५५ बताया कलीमायाँ कार्कीको शुक्रबार र फुलेककी ४० बताया कृष्णमायाँ सुवेदीको बिहीबार मृत्यु भएको हो ।
सातायता लालीगुराँस नगरपालिका क्षेत्रका सवै वडामा भाइरल ज्वरोको प्रकोप फैलीएको ४ नम्वर वडा अध्यक्ष प्रेम गौतमलले बताए । नगरक्षेत्रको ४ नम्वर वडा फुलेक र ३ नम्वर मुसाङखेल गाउँका अधिकांशमा ज्वरोको प्रकोप फैलीएको अध्यक्ष गौतमले बताए । गाउँमा ज्वरोको प्रकोप फैलीएको बारे जिल्ला स्वास्थ्य कार्यालय र प्राथमिक स्वास्थ्य केन्द्र बसन्तपुरमा खबर गरेपनि स्वास्थ्यकर्मी नआएको अध्यक्ष गौतमले बताए ।
गाउँमा अहिले भाइरल ज्वरो नियन्त्रण बाहिर गएको छ । फुलेकका जलकन्या र जनजागरण आधारभूत विद्यालय, जनता निमावि र सार्वजनिक माविका विद्यार्थीमा समेत ज्वरोको प्रकोप फैलिएको स्थानीय शिक्षक कृष्णबहादुर कटुवालले बताए । सातायता बढेको गर्मी र मौसममा आाएको फेरबदलसँगै गाउँदेखि बजार क्षेत्रमा समेत एक्कासी फैलिएको भाइरल ज्वरोका कारण स्वास्थ्य संस्थामा विरामीको चाप थेगिनसक्नु छ । जिल्लाका बसन्तपुर, संक्रान्ती, सिम्ले, जलजले, फुलेक, सोल्मा, शुक्रबारे, फाक्चामारा, ओख्रे, जिरिखिम्ती लगायतका स्वास्थ्य संस्थामा समेत विरामीको चाप बढेको छ ।
सातायता जिल्लाभर भाइरल ज्वरोको प्रकोप फैलिएको जिल्ला अस्पतालका डाक्टर मुक्तिनाथ शाहले बताए । सामान्य स्वास्थ्य उपचारपछि पनि ज्वरो नियन्त्रणमा नआएपछि प्रत्येक दिन विरामीको संख्या बढ्दै गएको अस्पतालले जनाएको छ । सुरुमा रुघा खोकी लाग्ने, घाँटी दुख्ने, पेट दुख्ने, खान मन नलाग्ने, वान्ता हुने नाकबाट सिंगान बगिरहने र अन्त्यमा ज्वरो आउने लक्षण विरामीमा देखिएको छ । रोगको प्रकोप फैलिएको क्षेत्रमा औषधि सहित स्वास्थ्यकर्मीको टोली पठाउने तयारी गरेपनि जिल्ला अस्पतालको स्टोरमा औषधि सकिएकाले पठाउन नसकिएको डाक्टर शाहले बताए । क्षेत्र र विभागमा औषधि अभाव भएबारे जानकारी गराएको तर औषधि आइनपुगेको शाहले बताए ।
जिल्ला अस्पतालको इमरजेन्सी कक्षमा मात्र दैनिक १ सय ४५ जनासम्म विरामी उपचारका लागि आइरहेको अस्पतालले जनाएको छ । भाइरल ज्वरो इन्फेक्सन भएर अधिकांश विरामीलाई टाइफाइड र निमोनिया समेत भएको स्थानीयको भनाइ छ । रोग प्रभावित क्षेत्रका विरामीको रगतको नमूना जाँचका लागि विभागबाट उपकरण सहितको स्वास्थ्यकर्मीको टोली शनिबार आउने डाक्टर शाहले बताए । कान्तिपुरमा समाचार छ ।