राजपाले चुनावमा सहभागी हुने निर्णय गरेलगत्तै प्रदेश २ का जिल्लाका सर्वसाधारणमा उत्साह देखिएको छ । कान्तिपुरमा समाचार छ ।
विभिन्न मागसहित राजपाले चुनावमा सहभागी नहुने निर्णय लिएपछि यहाँका ८ जिल्लामा अन्योल थियो । अब दलदेखि सर्वसाधारण चुनावी माहोलमा केन्द्रित भएका छन् । चुनावी रणनीतिसँगै घोषणापत्र तयारीमा जुटिसक्यौं, राजपा महामन्त्री जितेन्द्र सोनलले भने, चुनाव परिणाम आफ्नो पक्षमा पार्न सबै सूत्र अपनाउँछौं ।
चुनावमा सहभागी हुने औपचारिक निर्णयलगत्तै राजपाका शीर्षस्थ नेताहरू प्रदेश २ मा झर्ने क्रम सुरु भएको छ । राजधानीमा व्यस्त नेताहरू जिल्ला-जिल्लामा आउन थालेपछि नेता–कार्यकर्ताबीच चुनावी भलाकुसारी सुरु भएको छ । उनीहरूले सम्भावित उम्मेदवार र जित-हार केलाउन थालेका छन् । चुनावी गतिविधि पार्टीको केन्द्रीय कार्यालय जनकपुरबाट सञ्चालन हुने राजपाका अर्का महामन्त्री जितेन्द्र सिंहले बताए । उक्त पार्टीका चार पदाधिकारी बारा आइपुगेका छन् । महामन्त्रीद्वय जितेन्द्र सोनल र जितेन्द्र सिंह, उपाध्यक्षद्वय सरोज यादव र रमेश यादव आइपुगेका हुन् ।
पर्सादेखि सप्तरीसम्मका ८ वटै जिल्लामा उम्मेदवार छनोटसँगै चुनावी तालमेलको अवस्था अध्ययन गर्न आठ केन्द्रीय पर्यवेक्षक आइपुगेको महामन्त्री सिंहले बताए । उनका अनुसार जिम्मेवारी पाएका सबै नेता आ–आफ्ना जिल्लाको स्थलगत अनुगमनमा छन् । उनीहरू जिल्ला कार्यसमितिको बैठक गरी उम्मेदवारी छनोट गर्ने प्रक्रियामा जुटिइसकेका छन् । पार्टीका केन्द्रीय संयोजक महन्थ ठाकुर शुक्रबार वीरगन्ज आइपुगेका छन् । उनी शनिबार महुवनमा पार्टी प्रवेश कार्यक्रममा सहभागी भई गौर हुँदै पूर्वका जिल्लामा जाने कार्यक्रम रहेको छ ।
स्रोतका अनुसार उम्मेदवार छनोट प्रक्रियाका लागि पर्सामा पार्टीका केन्द्रीय उपाध्यक्ष विजय गुप्ता, बारामा कञ्चनपुरकी पूर्वसभासद मालामती राना थारू, रौतहटमा उपाध्यक्ष सत्यनारायण मण्डल, सर्लाहीमा उपाध्यक्ष शेखरकुमार सिंह, महोत्तरीमा उपाध्यक्ष गोविन्द चौधरी, धनुषामा कोषाध्यक्ष अरुण सिंह, सिरहामा उपाध्यक्ष गजाधर यादव र सप्तरीमा कपिलवस्तुका सांसद नरसिंह चौधरी उम्मेदवारी छनोटदेखि तालमेलको अवस्था अध्ययनका लागि जिल्ला-जिल्ला आइपुगेका हुन् । राजपाले चुनावमा भाग लिने भएपछि अन्योलको वातावरण हटेको छ, नागरिक समाज बाराका अगुवा उमेशलाल दासले भने, चुनावसम्बन्धी सबैखाले आशंका, डर, त्रास हटेकाले चुनावी वातावरण सबैतिरबाट सकारात्मक रूपमा फेरिएको छ ।
बारामा बिहीबार कार्यालय स्थापना गरेर दलहरूसित छलफल गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए । कार्यक्रममा राजपाका जिल्ला तहका अध्यक्ष मण्डलका सदस्य नवलकिशोर सिंहले निष्पक्ष, धाँधलीरहित चुनावका लागि संवेदनशील मतदान केन्द्रहरूमा सुरक्षा तयारी चुस्त/दुरुस्त बनाउन स्थानीय प्रशासनसित माग गरे ।
चुनावको तयारीसँगै राजपामा आन्तरिक द्वन्द्व पनि सडकमा प्रदर्शन भएको छ । नेतृत्वले स्थानीय तहको निर्वाचनमा जाने निर्णय गरेको दोस्रो दिन उम्मेदवार छनोटका लागि पर्साको वीरगन्ज आएका पर्यवेक्षक तथा पार्टी उपाध्यक्ष विजय गुप्ताका अगाडि पार्टीका दुई समूहले टिकटका लागि शक्ति प्रदर्शन गरे । वीरगन्ज महानगरपालिकाको मेयरको टिकट पाउन दुई समूहबीच भएको शक्ति प्रदर्शनले उम्मेदवार छनोट प्रक्रिया स्थगित भएको छ । दुवै समूहले चर्का नाराबाजी गर्दै आफ्नो उम्मेदवारलाई टिकट दिन दबाब दिएका थिए । ६ दल मिलेर गठन भएको राजपामा एकले अर्कालाई नेता मान्ने वातावरण अझै बनिसकेको छैन ।
तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टीका राजेशमान सिंह र तराई मधेस लोकतान्त्रिक पार्टीका विमलप्रसाद श्रीवास्तव वीरगन्ज महानगरपालिकाका मेयरका आकांक्षी हुन् ।
शुक्रबार स्थानीय कुमु प्यालेस होटलमा निर्धारित उम्मेदवार छनोट कार्यक्रम दुवै समूहको शक्ति प्रदर्शनले स्थगित भएको छ । जिल्लामा रहेका केन्द्रीय पदाधिकारी, जिल्लास्तरीय नेता र भ्रातृ संगठनका नेतृत्वलाई भेला गरेर आकांक्षीको नाम संकलन गरी छलफल गर्ने कार्यक्रम थियो, राजपाका एक नेताले भने, तर सिंह र श्रीवास्तव समूहबीचको रस्साकस्सीले कार्यक्रम बिथोलियो । तीन दिनभित्र जित्न सक्ने उम्मेदवारबीच सहमति गर्ने, सहमति नभए केन्द्रमा नाम सिफारिस गर्ने योजना थियो । गाउँ-गाउँबाट भेला भएका नेता-कार्यकर्ताले चर्का नाराबाजी गरेका थिए ।
राजपाका महासचिव शिव पटेलले टिकटका लागि होडबाजी हुनु राम्रो संकेत देखापरेको औंल्याए । विगतमा चुनाव लड्न उम्मेदवार खोज्नुपथ्र्यो, उनले भने, अहिले टिकट पाउन तामझामका साथ शक्ति प्रदर्शन गरिएको छ । राजपाप्रति आकांक्षा बढदो छ । राजनीतिमा एकताका सँगै रहेका श्रीवास्तव र सिंह दोस्रो संविधानसभाको निर्वाचनदेखि एकअर्काका प्रतिस्पर्धीका रूपमा अगाडि आएका हुन् । संविधानसभाको निर्वाचनमा दुवै लडदा कांग्रेसका राजेन्द्रमान अमात्यले पर्सा क्षेत्र नम्बर १ बाट सजिलै विजयी हासिल गरेका थिए । राजपा स्रोतका अनुसार आगामी स्थानीय तहको निर्वाचनमा दुवै मिलेर लड्न पटक-पटक वार्ता भए पनि सफल हुन सकेको छैन ।
प्रचार तीव्र
दलहरूले पर्सामा आगामी निर्वाचनका लागि प्रचार तीव्र पारेका छन् । उम्मेदवारको औपचारिक घोषणा नभए पनि टिकट पाउने पक्कापक्की भएका आकांक्षीले कार्यकर्ता लिएर मतदाताको घर-घर पुगिरहेका छन् । टिकट पक्का नभएका आकांक्षीले बिहान/साँझ शक्तिकेन्द्रमा धाइरहेका देखिन्छन् । साउन अन्तिम साता आएको बाढीबाट प्रभावित क्षेत्रमा विभिन्न दलका आकांक्षीले राहत सामग्रीसमेत पुर्याएका छन् । मोटरसाइकल, जिप, ट्रयाक्टरलगायत सवारी साधनमा पार्टीको झन्डा लगाएर कार्यकर्ता गाउँ/बजारमा डुलिरहेका छन् । सामाजिक सञ्जालमा समेत प्रचार अभियानले तीव्रता पाएको छ । कतिपय उम्मेदवारले आफ्नो प्रचारका लागि भारतबाट आईटी विशेषज्ञ झिकाएका छन् । प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका रहेको वीरगन्जमा विजयी हासिल गर्न दलहरूले बलिया उम्मेदवार खडा गरेका छन् । कान्तिपुरमा समाचार छ ।
कांग्रेसबाट जिल्ला सभापति अजय द्विवेदीको नाम चर्चामा आएको छ । पूर्वसभासद समेत रहेका द्विवेदी वीरगन्ज उपमहागरपालिकाको एक पटक उपमेयरसमेत भइसकेका छन् । एमालेले नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक वशरुद्दिन अन्सारीलाई टिकट दिने पक्का छ । दोस्रो संविधानसभा निर्वाचनमा एमाओवादीबाट चुनाव लडेका अन्सारीलाई मेयरको टिकट दिने सर्तमा एमालेले पार्टीमा भित्र्याएको हो । संघीय समाजवादी फोरम नेपालले वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विजय सरावगीलाई मेयर उम्मेदवारमा अगाडि सारेको छ । युवा व्यापारी सरावगीले व्यापक रूपमा प्रचार अभियान जारी राखेका छन् । यसैगरी माओवादी केन्द्रबाट युवा उम्मेदवार रहबर अन्सारीले मेयरका लागि मत मागिरहेका छन् । कान्तिपुरमा समाचार छ ।