स्थानीय निर्वाचनमा सुरक्षा त्रुटि हुन नदिन भारतीय सीमानाका बन्द
आश्विन १ गते, २०७४ मा प्रकाशित
२ नम्बर प्रदेशमा सोमबार हुने स्थानीय तह निर्वाचनमा सुरक्षा त्रुटि हुन नदिन भारतीय सीमानाका बन्द गरिएको छ ।
नाकाबाट हुने सवारी-आवतजावतमा पूर्ण रोक लगाइएपनि अत्यावश्यकीय सवारी-साधन भने सन्चालन गर्न दिइएको जनाइएको छ ।
स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत् सोमबार हुने २ नम्बर प्रदेशको चुनावमा सुरक्षाको चूक हुन नदिन नेपाल-भारत सीमा क्षेत्र बन्द गरिएको हो ।
नेपाल-भारत दुवै देशका अधिकारीबीच छलफल भएरै शुक्रबार मध्यरातदेखि मतदान नसकिँदासम्मको ७२ घन्टाका लागि सीमानाका बन्द गरिएको हो ।
२ नम्बर प्रदेशका आठै जिल्ला भारतसँग जोडिएकाले सुरक्षा संवेदनशीलता ख्याल गर्दै सीमा बन्द गरिएको छ ।
पर्सामा दुई, चार र ६ पांग्रेसहितका सवारी-साधन आवत-जावतमा रोक लगाइएको छ । एम्बुलेन्स, इन्धन ढुवानीका सवारी–साधन भने सुरक्षा निकायको अनुमतिमा सन्चालन गर्न दिइएको जिल्ला समन्वय समितिहरुले जनाएका छन् ।
विगतका चुनावमा भारतीय अपराधीबाट चुनावमा असर पार्ने गतिविधि हुने गरेकाले यसपटक त्यस्तो नहोस् भन्नकै लागि सीमानाकामा उच्च सतर्कता अपनाइएको हो ।
खुला सीमा भएकाले भारतसँगको मुख्य नाकाहरुका ठूलो मात्रामा सुरक्षाकर्मी खटाइएको छ । मुख्य नाकासहित सबै नाकालाई सिल गरिएको छ ।
वीरगन्ज-रक्सौल सीमानाकामा पैदलयात्रीलाई पनि कडाइ गरिएको छ । भारतबाट नेपाल आउने र जाने नेपाली र भारतीयलाई नागरिकता देखाइ आवत-जावतको कारण प्रस्ट गरेपछिमात्र नाका प्रवेशको अनुमति दिइने व्यवस्था मिलाइएको छ ।
वीरगन्जमा चुनावी सुरक्षाका लागि तीन हजार ८०० नेपाल प्रहरी, एक हजार ५०० सशस्त्र प्रहरी र नेपाली सेना खटाइएको छ । जसमा अनुसन्धान विभागका कर्मचारीले पनि उत्तिकै निगरानी गरिरहेका हुन्छन् ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले तोकिएका तीन तहमा रहेर मतदान केन्द्र, मतदाता र मतपत्र राखिएको बाकसको सुरक्षा प्रदान गर्नेछन् । इमेजखबरमा समाचार छ ।