प्रदेश नम्बर २ का आठ जिल्लामा २९८ टोलीबाट धमाधम मतगणना हुँदै

प्रदेश नम्बर २ का आठ जिल्लामा सोमबार भएको निर्वाचनको अहिले राजविराज नगरपालिकाबाहेक १३३ वटा स्थानीय तहमा २९८ टोलीबाट मतगणना भइरहेको छ । 
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट बिहान साढे ९ बजे प्राप्त विवरणअनुसार सबै स्थानीय तहमा शान्तिपूर्ण ढंगबाट मतगणना भइरहेको छ । 
यसैबीच, रौतहटको गरुडा नगरपालिका-३ को वडाध्यक्ष पदमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का उम्मेदवारबीच एक मत फरकको परिणाम आएपछि माओवादी केन्द्रका उम्मेदवारले पुनः मतगणनाका लागि निवेदन दर्ता गराएका छन् । 
सो विषयमा राजनीतिक सहमति कायम भएलगत्तै उक्त स्थानीय तहमा मतगणना पुनः सुरु हुने बताइएको छ । 
त्यस्तै, बारा जिल्लाका बारागढी गाउँपालिकामा माओवादी केन्द्रका प्रतिनिधि उपस्थित नभई मतपेटिका खोलिएको भन्ने विषयमा सामान्य विवाद उठेपछि रोकिएको मतगणना राजनीतिक सहमति जुटाएर मतगणना सुरु गर्ने प्रयास भइरहेको सूचना प्राप्त भएको छ । 
राजविराज नगरपालिकाको वडा नं १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले उक्त वडामा असोज ५ गते मतदान भएपछि मात्रै मतगणना कार्य सुरु हुने बताइएको छ । रासस