सामान्यतया असोज पहिलो साता (२३ सेप्टेम्बर) सम्म मात्र रहने मनसुन केही वर्ष यता लम्बिदै आएको छ । यो वर्ष पनि केही दिन मनसुन लम्बिने संकेत देखिएको मौसमविद्ले बताएका छन् ।
पानी पर्ने मौसमी प्रणाली बाँकी नै भएकाले मनसुन लम्बिने देखिन्छ, जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूती पोखरेलले कान्तिपुरसित भनिन्, दसैंसम्मै मनसुनी वर्षा हुन सक्छ । गत वर्ष पनि औसतभन्दा केही पछि मनसुन सकिएको थियो ।
पानी पार्ने प्रणाली पाकिस्तानबाट हट्दै पूर्वतिर आउनु पर्नेमा त्यसो हुन नसकेको पोखरेलले बताइन् । पश्चिमी वायुले पूर्वी वायुलाई धकेल्दै जानुपर्ने हो त्यो हुन सकेको छैन, उनले भनिन्, त्यही भएर केही दिन वर्षाको संभावना छ । मनसुन सकिनका लागि पश्चिमी वायु बलियो हुनुपर्छ । पूर्वी वायु सक्रिय हुनु भनेको मनसुन सक्रिय हुनु हो ।
दुई दिन यता मनसुन सक्रिय भएर देशैभर वर्षाए भएको महाशाखाले उल्लेख गरेको छ । बिहीबार पनि पूर्व र मध्यका भागमा बेलुकीपख वर्षा हुने पोखरेलले बताइन् । मौसमी प्रणाली पूर्वबाट पश्चिमतिर मुभ हुँदैछ, उनले थपिन्, पूर्व र मध्यमा भोलीदेखि केही सुधार आए पनि पश्चिमक्षेत्रमा वर्षा हुनेछ ।
महाशाखाको तथ्यांक अनुसार बुधवारदेखि विहीवार विहानसम्म सबैभन्दा बढी दिपायलमा (४३ मिमि) वर्षा भएको छ । ताप्लेजुङ, धनकुटा, विराटनगर, सिमरा, भैरहवालगायतका स्थानमा पनि वर्षा भएको छ । कान्तिपुरमा समाचार छ ।